arrow

नेपालको आफ्नो दिगो विकासका लक्ष्यहरू निर्धारण गर्नुपर्छ- पूर्वराष्ट्रपति भण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
bidhyadevi-bhattrai-07-19.jpg

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरू निर्धारण गर्नुपर्ने बताएकी छन् । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के-केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गरेकी हुन् । 

पूर्व राष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्ने कुराको मूल्याङ्कन गरी सय वर्षपछिका लागि हुने गरी दिगो विकासका लक्ष्यहरू निर्धारण गर्नुपर्ने बताइन् । उनले दिगो विकास गर्ने भइसकेपछि वन जङ्गल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरूको लागि कति ठाउँ चाहिन्छ ? भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई दिनुपर्ने बताइन् । पूर्व राष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरू अघि बढाउनुपर्ने बताइन् । सहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्ने कुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘नेपाल (हाम्रो देश) खास गरी प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देशमा पर्छ । समय समयमा भूकम्प आइरहने भूकम्पको कारणले बस्तीहरू, बाटोघाटोहरू विभिन्न प्रकोपहरू पनि बढ्ने हुन्छ । त्यसले प्रत्यक्ष हानी नोक्सानी भनेको जनतालाई नै गर्छ । विश्व तापक्रम अत्यधिक बढेको र विश्व तापक्रम बढेको कारणले गर्दा विश्वलाई नै सङ्कटतर्फ धकेलिरहेको छ । जुन जलवायु अनुकूलन खालको वातावरण हुनुपर्ने हो, प्रकृति र मानव जगतको लागि त्यो नभएर अप्रत्याशित ढङ्गले चिसो हुने र अप्रत्याशित ढङ्गले गर्मी हुने, अप्रत्याशित पानी पर्ने, त्यो खालको स्थिति छ । यस वर्षको अग्रिम जलवायुको सूचना हेर्दा पनि यो हिउँद महिना पनि हाम्रो लागि त्यति सहज छैन भन्ने छ । हामीले हाम्रो देशको प्राकृतिक बनावट जुन छ, यहाँ हुने जुन खालका प्राकृतिक प्रकोपहरू छन्, त्यसबाट मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ, जीवन रक्षा नै हाम्रो प्रथम दायित्व भएको हुँदा सुरक्षित बस्ती विकास गर्ने, कुनै पनि निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट हामीलाई सङ्कट पनि नआओस्, त्यो निर्माण कार्य सुरक्षित होस् र मानव जीवन भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न हामीले काम गर्नुपर्छ । कहिले पानी बढी पर्दा जनजीवन त्रस्त हुन्छ । पछि त्यही पानीको अभाव यति धेरै हुन्छ की पानी खान पनि पाउँदैनन् । यो कुरालाई ध्यानमा राखेर हाम्रो विकासको योजनाहरू बनाउनु पर्छ । दिगो विकासको त अहिले प्रसिद्ध थेगो नै बनेको छ । राज्यको तर्फबाट पनि दिगो विकासका लक्ष्यहरू भनिएको छ । दिगो विकासका लक्ष्यहरू निर्धारण गर्नुपर्छ । सय वर्षअघि कस्तो खालको परिस्थिति थियो, कस्तो भूकम्प आएको थियो, कस्तो बाढी गएको थियो, कस्तो पहिरो गएको थियो, कस्तो महामारी फैलिएको थियो । हामी यो पुस्ताले सय वर्ष पछिसम्म थेग्ने गरी निर्माण कार्य गर्नुपर्छ । तर अहिले तदर्थवादमा नै बढी चलिरहेको छ । दिगो विकास गर्ने भइसकेपछि हामीले हरेक कुरालाई वन जङ्गल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ । नदीनालाहरूको लागि कति ठाउँ चाहिन्छ ? यस्तो कुराको पहिला नै हिसाबकिताब हुनुपर्छ । त्यो योजना जनतालाई पहिला नै दिनुपर्छ । जनताले त्यो थाहा पाउनुपर्छ । त्यसो भए मात्रै मानव जीवनलाई सुरक्षा प्रदान गर्न सक्छौँ । मानिसको जीवनचक्रमा धेरै कुरा जोडिएर आएको हुन्छ । प्रकृति पनि, संस्कृति पनि, सम्पदा पनि । यो कुरालाई ध्यानमा राखेर नै हामीले विकास कार्यहरू अघि बढाउनु पर्छ । तत्काल कुनै घटना भयो भने उद्धार, राहतको लागि तत्काल व्यवस्था गर्ने संयन्त्र बनाउनु पर्छ । दिगो व्यवस्थापनमा जानुपर्ने हुन्छ । खास गरी मानव बस्ती सहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्ने कुरामा जनताको पनि र राज्यको पनि ध्यानाकर्षण हुन आवश्यक छ ।’

पूर्व राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन वातावरण हुनुपर्ने भए पनि अप्रत्याशित रूपमा जलवायुजन्य घटनाहरू बढिरहेको बताइन् । नेपालका लागि जीवन रक्षा नै प्रथम दायित्व भएकाले सुरक्षित बस्ती विकास गर्ने, निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट सङ्कट नआओस् भन्ने ध्येयले काम गर्नुपर्ने बताइन् । निर्माण कार्य सुरक्षित बनाइ मानव जीवनलाई भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न आवश्यक भएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ