- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज कर्णाली याक्सले शुक्रबार आफ्नो जर्सी सार्वजनिक गरेको छ । नक्शालमान शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो टोलीको जर्सी सार्वजनिक गरेको हो ।
पूर्वउपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णालीका मार्की सोमपाल कामी, टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरेका हुन् । प्रशिक्षक ज्ञानेन्द्रले नेपाल क्रिकेट सङ्घ (क्यान) बाट उक्त जर्सी स्वीकृतिपछि मात्र सार्वजनिक गरिएको बताए ।
कर्णाली याक्सले दुई दिन अगाडि मात्र आफ्नो गीत सार्वजनिक गर्दै फेस अफ कर्णालीको रूपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको थियो । उक्त कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले करिब २६ वर्षअगाडि आफू खेलकुद मन्त्री हुँदा पहिलोपल्ट त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा क्रिकेटको राष्ट्रिय प्रतियोगिता गरिएको स्मरण गर्दै राज्यले खेलकुदमा थप लगानी बढाउन सके विकासले फड्को मार्ने बताए ।
नेपाल प्रिमियर लिगको पहिलो संस्करण मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । उक्त एनपीएलको लागि कर्णाली याक्सले तयारीमा तीव्रता दिइरहेको छ । कर्णालीले तीन विदेशी खेलाडी वेस्ट इन्डिजको ब्याटर चाडविक एन्टोनिओ वाल्टन, पाकिस्तानका अलराउण्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । कार्यक्रममा मार्की खेलाडी सोमपाल कामीले नेपालको लिग यति माथि पुगेकोमा खुशी व्यक्त गर्दै एनपीएलको खेलका लागि उत्साहित रहेको बताए । टोलीमा ज्ञानेन्द्र मल्ल जस्तो प्रशिक्षक र देव खनालजस्ता युवा खेलाडीले आफू धेरै उत्साहित रहेको उनको भनाइ छ ।