- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालले यूएईमा जारी यू–१९ महिला विश्वकपको एसिया छनोट अन्तर्गतको खेलमा कुवेतलाई २१४ रनको कठिन लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिंग गरेको नेपालले कप्तान पूजा महतोको शानदार कीर्तिमानी शतकको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको हो ।
५७ बलमा शतक पूरा गरेकी पूजाले ६९ बलमा अविजित रहँदै १३० रन बनाइन् । त्यस्तै उपकप्तान सोनी पाख्रिनले अविजित रहँदै ३३ बलमा ४३ रन बनाएकी थिइन् । दुवैबीच तेस्रो विकेटका लागि कीर्तिमान १५७ रनको साझेदारी भएको छ ।
यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्वाधिक ठूलो स्कोर हो । त्यस्तै पूजाको यो अहिलेसम्मकै सर्वाधिक रन हो ।
यसअघि यूएईले कुवेत विरुद्ध नै २११ रन बनाएको थियो ।
यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतबार यूएईकी लाभन्या केन्याले कुवेतविरुद्ध ९९ रन बनाएकी थिइन् ।
नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले कुवेतविरुद्ध खेलिरहेको हव् । दुबईस्थित द सेभेन स्टेडियममा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
शीर्ष स्थानमा रहेर विश्वकपमा छानिने आशा जीवितै राख्न नेपालले कुवेतमाथि फराकिलो जित हासिल गर्नुपर्ने हुन्छ । किनकि नेपाललाई पराजित गरेको यूएईको नेट रन रेट निकै राम्रो भएका कारण नेपालले कुवेतसँगै अन्तिम यूएईविरुद्धको खेल पनि फराकिलो अन्तरले जित्नुपर्ने हुन्छ ।
सामान्य जितलेमात्र नेपालले यूएईलाई पछि पारेर शीर्ष स्थानमा रहने अवस्था रहँदैन ।
प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा बुधबार युएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।