- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालले यूएईमा जारी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट खेलमा कुवेतमाथि कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालका लागि यो फराकिलो अन्तरको कीर्तिमान हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रन बनाउँदै अल आउट भएपछि नेपाल १६५ रनले विजयी भएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले कीर्तिमानी ८ रन खर्चेर ५ विकेट लिइन् । उनी एकै खेलमा ५ विकेट लिने र शतक बनाउने पहिलो खेलाडीसमेत बनेकी छिन् ।
यसअघि टस जितेर पहिले ब्याटिंग गरेको नेपालले कप्तान पूजा महतोको शानदार कीर्तिमानी शतकको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।
५७ बलमा शतक पूरा गरेकी पूजाले ६९ बलमा अविजित रहँदै १३० रन बनाइन् । त्यस्तै उपकप्तान सोनी पाख्रिनले अविजित रहँदै ३३ बलमा ४३ रन बनाएकी थिइन् । दुवैबीच तेस्रो विकेटका लागि कीर्तिमान १५७ रनको साझेदारी भएको छ ।
यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्वाधिक ठूलो स्कोर हो । त्यस्तै पूजाको यो अहिलेसम्मकै सर्वाधिक रन हो ।
यसअघि यूएईले कुवेत विरुद्ध नै २११ रन बनाएको थियो ।
यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतबार यूएईकी लाभन्या केन्याले कुवेतविरुद्ध ९९ रन बनाएकी थिइन् ।
यो जितसँगै नेपालले शीर्ष स्थानमा रहेर विश्वकपमा छानिने आशा जीवितै राखेको छ । यसअघिको पहिलो खेलमा नेपाललाई पराजित गरेको यूएईको नेट रन रेट निकै राम्रो भएका कारण नेपालले कुवेतलाई त सोचेजस्तै हरायो अब अन्तिम खेलमा यूएईविरुद्धको खेल पनि फराकिलो अन्तरले जित्नुपर्ने हुन्छ ।
सामान्य जितलेमात्र नेपालले यूएईलाई पछि पारेर शीर्ष स्थानमा रहने अवस्था रहँदैन ।
प्रतियोगितामा नेपालले ५ खेलमा ४३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल दोस्रो स्थानमा रहेको छ ।
नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो ।
नेपालले यस प्रतियोगितामा बुधबार यूएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।