- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पहिलो पटक विश्वकपमा छानिएर नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली बिहीबार बेलुकी स्वदेश फर्केको हो । पहिलो पटक विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीहरू र खेल समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे ।
राखेपका सदस्य सचिव घिसिङले यु–१९ टोलीले ऐतिहासिक सफलता हासिल गरेकोमा बधाई ज्ञापन गरे । त्यस्तै नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले महिला क्रिकेटमा स्वर्णिम युगको शुरुआत भएको बताए ।
नेपाली टोलीकी कप्तान पूजा महतोले टिमवर्कका कारणले नेपालले विश्वकपसम्मको यात्रा तय गर्न सफल भएको बताइन् । बिहीबारै क्यानले नेपाली खेलाडीलाई जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।
संयुक्त अरब इमिरेट्स (यूएई)को अजमानमा बुधबार भएको अन्तिम खेलमा घरेलु टोली यूएईमाथि ८ विकेटको जित निकाल्दै नेपाल पहिलो पटक यू–१९ विश्वकपमा छनोट भएको हो ।
विश्वकपका लागि एसिया छनोटमा नेपालले ६ खेलबाट १० अङ्क जोड्दै रन रेटमा यूएईलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । यूएई रन रेटले पछि पर्दै विश्वकपमा स्थान बनाउन असफल भयो । चार टोलीमध्ये शीर्ष स्थानमा रहने टोलीलेमात्र विश्वकपमा ठाउँ बनाएको हो ।
यू–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ । विश्वकपका साथै नेपाल पहिलो संस्करणको यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसियाली क्रिकेट परिषद् एसीसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागि नेपाल छनोट भएको हो ।
यू–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् ।