arrow

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
yamlal-kandel-cm-karnali.jpg
फाइल तस्बिर

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक सम्भावनाको क्षेत्र भएको बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ४१औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले मूल्यवान् कृषि, पर्यटन, जल, जङ्गल र जडीबुटी तथा भाषा, संस्कृति र पुरातत्वका हिसाबले कर्णाली प्रदेश प्रशस्त सम्भावनाको स्रोत भएको बताए ।

 

उनले भने, “मुगु रारालाई सिरानमा राखेर कर्णाली करिडोर र डोल्पाको शे-फोक्सुण्डोलाई सिरानमा राखेर भेरी करिडोर मार्फत धेरैभन्दा धेरै मान्छे त्यहाँ लिन सकिन्छ ।”

मुख्यमन्त्रीका अनुसार हुम्लाको खार्पुनाथ नदीमा मात्र बेलिब्रिज जोड्न सके तीनचार महिनामा सुर्खेतदेखि हिल्सासम्म एउटै गाडीबाट पुग्न सकिने अवस्था छ ।

हराउने खालको नभई देखिने तीन क्षेत्र कृषि, पर्यटन र लघु घरेलु उद्योगमा परम्परागत सीपलाई पुस्तान्तरण गरेर रोजगार सिर्जना गर्नेदेखि आर्थिक क्रियाकलाप बढोत्तरी गर्ने सोचअनुसार प्रदेश सरकारले आगामी वर्षदेखि योजनाबद्ध ढङ्गले अगाडि बढ्ने र चालु आर्थिक वर्षमा पनि आवश्यक बजेट विनियोजन गरी आर्थिक विकास गर्न सकिने उनको भनाइ थियो ।

मगन्तेका रूपमा नभई आवश्यकता आधारमा सूची बनाएर चार लेनको कोहलपुर-सुर्खेत, दुई लेनको सुर्खेत-हिल्सा, सुर्खेत-डोल्पा, गमगढी-सिमकोट, भेरी पम्पिङ, जाजरकोट रुकुमपश्चिममा भूकम्पको पुनः निर्माण र सुर्खेत विमानस्थल विस्तार गरी यहाँदेखि हिमाली जिल्लामा हवाई सेवा दिनुपर्ने कुराको पैरवी सङ्घीय सरकारसँग भइरहेको जिकिर गर्दै उनले प्रदेश सरकारले आफ्नो क्षेत्रबाट गर्ने प्रयत्न गरेको जनाए ।

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, खनिज, जलस्रोत, पूर्वाधारको विकास र निर्माणका बारेमा तयार गरिएको उद्योग वाणिज्य सङ्घको प्रतिवेदनमा समाविष्ट विषय प्रदेश सरकारका लागि सन्दर्भ सामग्री हुने भन्दै मुख्यमन्त्रीले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने आश्वासन दिए ।

प्रदेश सरकार मन्त्री, सचिव, कर्मचारी र निर्माण व्यवसायीलाई सँगै राखेर पुरस्कार लिनेगरी आफ्नो जिम्मेवारी पूरा गर्नूस् काम गर्न अतिरिक्त शुल्क कसैले तिर्न पर्दैन भनेर स्पष्टसँग भनेको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सरकार सफल हुनुमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

सरकार, निजी क्षेत्र र सहकारीको साझा प्रयासबाट मुलुकको विकास र समृद्धि हुन सक्ने उनको भनाइ थियो ।



नयाँ