- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरमा आक्रमण भएको छ । सिजेरियास्थित रहेको उको घरमा आक्रमण भएको हो । टाइम्स अफ इजरायलका अनुसार नेतान्याहूको घरतर्फ दुई वटा आगोका गोला प्रहार भएको थियो, जुन घरको आँगनमा खसेको थियो । इजरायली प्रहरीले यसको पुष्टि गरेको हो । आक्रमण कहाँबाट आयो र कसले गर्यो भन्ने बारेमा हालसम्म जानकारी उपलब्ध छैन ।
इजरायली सुरक्षा एजेन्सी शिन बेटले एक विज्ञप्तिमा घटनामा कुनै क्षति नभएको बताएको छ। सुरक्षा एजेन्सीले हमलाको समयमा नेतान्याहू र उनको परिवार घरमा नभएको बताएको छ ।
उनीहरुले यस घटनाको अनुसन्धान सुरु गरेका छन् । यसअघि अक्टोबर १९ मा नेतान्याहूको घरमा हिजबुल्लाहले आक्रमण गरेको थियो । त्यसपछि नेतान्याहूको घर नजिकैको भवनमा ड्रोन खसेको थियो । त्यतिबेला पनि नेतान्याहू र उनकी श्रीमती सारा घरमा थिएनन् ।
इजरायली प्रधानमन्त्रीको घरमा भएको आक्रमणको सबै राजनीतिक दलले निन्दा गरेका छन् । विपक्षी नेता यायर लापिड र बेनी गान्ट्जले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमा सीमा नाघिएको बताएका छन् । यस विषयमा सुरक्षा निकायले तुरुन्तै पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् ।