arrow

सन्दर्भ कोप २९

सरकारलाई नै थाहा छैन जलवायु वित्तका लागि योजना – अरुणकुमार सुवेदी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
arunkumar-subedi-81-8-4.jpg

काठमाडौँ । परराष्ट्र मामिलाका विज्ञ एवं जलवायु परिवर्तनका जानकार अरुणकुमार सुवेदीले सरकारलाई जलवायु वित्तका लागि योजना के हुन सक्छन् भन्नेसमेत थाहा नभएको बताएका छन् । 

अजरबैजानको बाकुमा राष्ट्रसंघीय वातावरण र जलवायु परिवर्तन (कोप–२९) सम्मेलन चलिरहँदा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै बाकु पुगेका उनले नेपाल बिना तयारी बाकु पुगेको बताएका हुन् ।

बाकुमा राष्ट्रपति रामचन्द्र पौडेलसँगै वनमन्त्रीसमेत सहभागी भए । सुवेदी निजी क्षेत्रका एक्लो सहभागी भएका हुन् । 

उनले नेपालले ‘हिउँ पग्लियो हामी पीडित भइयो’ भनेर जोडतोडका साथ कोप २९ राखेको भन्दै पीडित जनताले उठाएका विषय भने नसमेटिएको बताए । 

जलवायु परिवर्तनको मार खेपिरहेका अजरबैजानका विभिन्न समूहको प्रदर्शन भए पनि नेपालकै पीडित जनताका विषय सरकारले नउठाएको उनले बताए । 

उनले भने, ‘हिमताल विष्फोटबाट कोभानमा त्यस्तो भयो । ती जनता राज्यको नजरमा परेनन् । जलवायु परिवर्तनबाट भएको असरबारे पीडित जनताले बोल्न पाउनु पर्दथ्यो ।’

सरकारले मिश्रित विषय उठाएको भन्दै सुवेदीले सही र गलतकोसमेत विश्लेषण गरेका छन् । 

उनले भने, ‘उहाँहरुले हिउँ पग्लदैछ भनेर जोडतोडका साथ मुद्दा उठाउनु ठीक, जलवायु वित्त (क्लाइमेट फाइनान्स) चाहिन्छ भन्नुभयो त्यो पनि ठीक तर क्लाइमेट फाइनान्स केमा खर्च गर्ने हो र प्रयोजन के हो भन्ने कुरा त्यसको बारेमा धारणा सुनिएको छ त्यो बेठीक ।’

सुवेदीले आफूले कोप २६ देखि यसलाई गहन अध्ययन गरेको र बाकु आउनु भन्दा पहिले राष्ट्रपति र वनमन्त्रीलाई यो काम गर्नुपर्छ भनेर भनेको तर ती कुराहरु नउठाइएको आरोप लगाए । 

उनले भने, ‘क्लाइमेट फाइनान्स चाहिन्छ, गर्ने परियोजना थाहा छैन, पैसा सबै सरकारलाई चाहिन्छ अहिलेको नेपालको प्रिन्सिपल स्टयान्ड यही देखियो ।’

उनले अगाडि भने, ‘हिउँ पग्लियो, हामीहरु मर्कामा पर्यौँ, क्लाइमेट फाइनान्स चाहिन्छ, सबै सरकारलाई चाहिन्छ, यही हो ।’

उनले कोप २९ मा विभिन्न देश, संस्थाले जलवायु वित्त अन्तर्गत १० ट्रिलियन (१० हजार अर्ब) डलरको प्रतिबद्धता गरेको भन्दै जलवायु असर व्यवस्थापन गर्ने संस्थाहरुमार्फत उक्त वित्त जानेसमेत बताए । 

उनले एक ठाउँमा आफ्नोसमेत विशेष ध्यानाकर्षण भएको भन्दै पैसा प्रतिबद्धता जनाउने संस्थाहरुमध्ये एसियाली विकास बैंकले साढे तीन अर्ब डलर पग्लिरहेका हिमनदीको अध्ययन र संरक्षणमा लगानी गर्न छुट्टाएको उल्लेख गरे । 

उनी यस विषयमा चाख लाग्दो विषय जोड्दै भन्छन्, ‘पाकिस्तान, अफगानिस्तान, भुटान, भारत भएको तर नेपाल छैन । हामीले त्यो लबिङ नै गरेनौँ । त्यो हाम्रो पहुँचमै रहेन । हाम्रो सूचनामै रहेन । यो दुर्भाग्यपूर्ण विषय हो ।’ 

उनले अजरबैजानको राजधानी बाकुमा कोप २९ चलिरहँदा आफ्नो यु–ट्युब च्यानलमार्फत यसबारे जानकारी दिएका छन् ।


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ