- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रूपमा प्रमाणित भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गरे । उनले क्रेडिट रेटिङको काम सरकारले शुरु गरेको र यो अन्तिम नभइ शुरुवात भएको बताए । उनले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रूपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने बताए ।
उनले यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रूपमा नेपाल लगानीका लागि अनुकूल गन्तव्य भएको सन्देश विश्वव्यापी रूपमा गएको बताए । उनले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लगानी गर्नेहरूले राम्रो प्रतिफल पाउने जिकिर गरे । नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुन आह्वान गरे । उनले नेपालको अर्थतन्त्रलाई अझ सबल, सुदृढ र शक्तिशाली बनाउने र लगानीका निम्ति अझ अनुकूल परिस्थिति निर्माण गर्न सबैले समान भूमिका खेल्नुपर्ने बताए ।
उनले भने, ‘क्रेडिट रेटिङको काम हामीले शुरु गरेका छौँ । यो अन्तिम होइन, शुरुवात थियो । क्रेडिट रेटिङलाई निरन्तरता दिन्छौँ । हामीले आवधिक रूपमा हाम्रो अर्थतन्त्रको स्वास्थ्य स्थिति के छ भन्ने कुरालाई आवधिक रूपमा सार्वजनिक पनि गर्दै जान्छौँ । यो हाम्रो क्रेडिट रेटिङको शृङ्खलाको पहिलो एपिसोड हो । आउने दिनमा यसलाई निरन्तरता दिन्छौँ भन्ने पनि म विश्वास दिलाउन चाहन्छु । यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रूपमा नेपाल लगानीका लागि अनुकूल गन्तव्य हो भन्ने र नेपालमा गरिने लगानी सुरक्षित हुन्छ भन्ने सन्देश विश्वव्यापी रूपमा दिन सफल भएका छौँ । क्रेडिट रेटिङको महत्त्वपूर्ण पक्ष यो हो । संसारभर रहेका लगानीकर्ताहरूलाई आग्रह गर्न चाहन्छु, नेपाल साँच्चै नै लगानीका दृष्टिकोणले सुरक्षित मुलुक हो । यहाँ लगानी गर्नेहरूले राम्रो प्रतिफल आर्जन गर्न सक्छन् । नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुनुस् भनेर संसारभरका निजी क्षेत्रलाई अनुरोध गर्न चाहन्छु ।’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कन्ट्री रेटिङमा नेपालले डबल बी माइनसको रेटिङ पाएको र यो दक्षिण एसियामा अनुकूल नतिजा रहेको बताए । उनले क्रेडिट रेटिङको नतिजा प्रकाशित गर्ने मात्र नभई आउने दिनमा प्रत्यक्ष वैदेशिक लगानीका निम्ति अनुकूल हुने परिस्थिति निर्माण गर्न कानूनी र संरचनागत सुधार गर्न तयार रहेको बताए । आफूहरू बिबि माइनसमा मात्रै चित्त बुझाएर नबस्ने भन्दै क्रमशः आगामी दिनमा सबल र सुदृढ बनाउने बताए ।