- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई पर्यटनसंँग जोड्न आग्रह गरेका छन् ।
चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान कार्यक्रममा राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन् ।
उनले, ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटनसंँग जोड्नसबै कलाप्रेमी महानुभावलाई आव्हान गर्दछु ।’
यसतर्फ सरकारले आवश्यक नीति, नियमसहित पर्याप्त पूर्वाधार र स्रोतसाधन जुटाउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
राष्ट्रपतिले ठूलाठूला विषयवस्तु भन्दा गाउँसमाजमा देखिएका ससाना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गर्न नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको स्पष्ट पारे ।
उनले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरे ।
राष्ट्रपतिले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सिर्जनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाईमा पुर्याउने बताए ।
उनले चलचित्र चेतना, शिक्षा र नवीन सोँचको द्योतक भएको भन्दै राष्ट्रपतिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ ध्यान जानुपर्ने उल्लेख गरे ।
राष्ट्रपतिले भने, ‘चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यममात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढंगले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो, यसका कथा र प्रस्तुतिमा मानिसका भोगाई र समाजका यावत क्रियाकलाप प्रतिविम्वित भएको हुन्छ, तसर्थ यो समाजको ऐना पनि हो ।’
आधुनिक युगमा चलचित्र कुनै पनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेशमा सहजै पुर्याउने माध्यम बनेको भन्दै राष्ट्रपति यसबाट लाभ लिन जरुरी रहेको बाताए ।
उनले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसंगतिलाई नियमन गर्न नियामक निकायकारुपमा रहेको विकास वोर्डलगायतका निकायले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताए ।
राष्ट्रपतिले भने, ‘यस क्षेत्रमा प्रतिभाशाली जागरुक युवालाई अवसर दिन, राम्रा चललचित्र बनाउन र राम्रो अभिनयलाई उत्प्रेरित गर्नेतर्फ विकास बोर्डको ध्यान सदैव केन्द्रित हुनुपर्छ ।’
सोक्रममा राष्ट्रपतिले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवी सिंहलाई तीन लाख ७५ हजारसहित प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो ।