एनपीएलमा पहिलो सुपर ओभरमा निर्णय, पोखराले मार्यो बाजी
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
420
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको २० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ ।
पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको भिडन्तमा सुपर ओभरमा निर्णय भएको हो । खेल पोखराले १३ रनले जित्यो ।
पहिले ब्याटिङ गरेको पोखराले कुनै विकेट नगुमाइ १८ रन बनायो । विराटनगरका कप्तान सन्दिप लामिछानेले १८ रन दिएका हुन् ।
जवाफमा विराटनगरले केबल ५ रनमात्र बनाउन सक्यो । रेमन राइफरले उत्कृष्ट बलिङ गरेका हुन् ।
दुवै टिमले १३९ रन बनाएपछि सुपर ओभरमा निर्णय भएको हो ।
यसअघि जितका लागि पोखराले १४० रनको चुनौती पछ्याइरहँदा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन नै बनायो ।
एन्द्रेस गोसले ३९ तथा रेमन राइफरले ३४ रन बनाए । प्रतिस जीसीले ४ विकेट लिए ।
यसअघि खेलमा टस जितेर विराटनगरले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनायो ।
स्कट एड्वार्डस्ले ४५ रन बनाएको इनिङ्समा सागर ढकाल र रेमन राइफरले २–२ विकेट लिए ।
यो जितसँगै पोखराको प्लेअफ सम्भावना जीवितै छ भने विराटनगर बाहिरिएको छ । बाहिरिने विराटनगर दोस्रो टिम बनेको छ । यसअघि लुम्बिनी बाहिरिएको थियो ।
आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज् भिडिरहेका छन् । यो खेल जित्दा जनकपुरले प्लेअफ पक्का गर्नेछ भने काठमाडौँले जित्दा प्लेअफ सम्भावना बलियो बनाउने छ ।
अंक तालिका
५ खेलबाट ८ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको छ । पहिलो हार बेहोरेको जनकपुर ५ खेलबाट ८ अंकबाटै दोस्रो स्थानमा छ ।
चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ४ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।
पोखरा ५ खेलबाट ४ अंकसहित छैटौँ, लुम्बिनी लायन्स ६ खेलबाट २ अंकसहित सातौँ तथा विराटनगर ५ खेलबाट २ अंकसहित पुछारमा छ ।
यसअघिका खेल
–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।
–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।
–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए ।
–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ ।
–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।
–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।