समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
496
Shares
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका मन्त्री तथा सचिवहरुलाई बजेट, कार्यक्रम तथा योजना कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्षको मन्त्रालयगत समीक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिए । मुख्यमन्त्रीले सुधारका नाममा काम रोक्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिएका हुन् ।
“समस्या देखियो भनेर कामबाट पन्छिने काम नगर्नुस्,” उनले भने, ‘बरु नियमसंगत रुपमा अड्केको कसरी फुकाउन सकिन्छ, त्यतातर्फ लाग्नुहोस ।”
बजेट कार्यान्वयन र सेवा प्रवाहमा सहजता ल्याउने नीतिगत काम मन्त्री र सचिवको भएको बताउँदै मुख्यमन्त्रीले एउटै फाइल दुई महिनासम्म घुमिरहने तर काम नहुने प्रवृतिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
बजेटमा समेटिएका योजना र कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा बिगतमा देखिएका कमिकजोरीलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याउदै उनले हात बाँधेर बस्ने प्रवृतिलाई अन्त्य र उपयुक्त विकल्प खोजेर सहजीकरण गर्ने काममा लाग्नसमेत सुझाए ।
नागरिकको तहबाट उठेका विभिन्न टिप्पणीहरुलाई कानूनसम्मत तरिकाले सम्बोेधन गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्रीले अनुशासन कायम गर्ने नाममा कार्यसम्पादनमा नै प्रश्न चिन्ह खडा गर्ने तरिकालाई बदल्न समेत आग्रह गरे ।
चालु आर्थिक वर्षको चौमासिक समीक्षाको प्रगति सोचे अनुरुप हुन नसक्नुका कारणहरु खोजेर समाधानतिर लाग्नुपर्ने उनको भनाइ थियो ।
प्रदेश सरकार निर्देशित सरकार नभएको बताउँदै मुख्यमन्त्रीले सार्वभौम संसदले पास गरेको बजेट कार्यान्वयनलाई नियमसंगत ढंगले काम गर्न र कसैको मुख नताक्न, धेरै जसो पैसा बिगतका योजनामा होल्ड भएको बताए ।
मुख्यमन्त्रीले लगानी भइसकेका योजनालाई अलपत्र छाडने नभई समयमै सम्पन्न गर्नतर्फ लाग्न पनि निर्देशन दिए ।
उनले भने, “पटक पटक अवसर आउँदैन, मन्त्री पद स्थायी होइन, अवसर पाएको बेला जनअनुमोदन हुनेगरी कार्यसम्पादन उत्कृष्ट देखाउनुहोस् ।”
भेला बैठकलाई सकेसम्म प्रविधिको माध्यमबाट कम खर्चमा छिटो र उपलब्धिमूलक बनाउन सकिने चर्चा गर्दै मुख्यमन्त्रीले जिल्लामा जाँदा सकेसम्म आफ्ना कार्यालयका प्रमुख र कार्यकर्तासँग मात्र नभई आम नागरिकसँग पनि अन्तरक्रिया गर्न मन्त्रीहरुलाई सुझाव दिए ।
सरकारले वितरण गर्ने अनुदानको बारेमा आफूकहाँ व्यापक गुनासा आउने गरेका बताउँदै मुख्यमन्त्रीले अनुदानको नाममा हुने विकृतिलाई हटाउन निर्देशन पनि दिए ।