arrow

एनपीएलमा बुधबार इलिमिनेटर र पहिलो क्वालिफायर, उपाधि विजेतालाई एक करोड दश लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
npl-trophy-2024-final.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा बुधबार इलिमिनेटर खेल र पहिलो क्वालिफायर खेल हुँदैछ ।

इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छ । 

त्यस्तै पहिलो क्लालिफायरको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । 

दोस्रो क्वालिफायर खेल बिहीबार दिउँसो १२ः१५ बजे शुरु हुनेछ । 

त्यस्तै फाइनल खेल आगामी शनिबार १२ः१५ बजे नै हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । 

आठ टिमले सहभागीता जनाएको प्रतियोगिताको विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । 

त्यस्तै उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छ । 

बुधबारका खेल
गत मंसिर १५ गतेदेखि शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा बुधबार इलिमिनेटर खेल र पहिलो क्वालिफायर खेल हुनेछ । 

शीर्ष चारको तेस्रो र चौथो स्थानमा रहेका दुई टिम चितवन राइनोज र कर्णाली याक्स इलिमिनेटरमा खेल्दैछन् । 

खेल बिहान ९ बजे शुरु हुँदैछ । दुवै टिम ८ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका हुन् । 

त्यस्तै दिउँसो १ बजे पहिलो क्वालिफायर खेल हुँदैछ । १२ अंकसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अंकबाट दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सबीच पहिलो क्वालिफायर हुन लागेको हो । 

यस्तो थियो लिग चरणको सबै २८ खेलको नतिजा
–२८ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले हराएको हो ।
–२७ औँ खेलमा पोखरा एभेन्जर्समाथि पाँच रनको रोमाञ्चक जित हासिल गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ ।
–२६ औँ खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक एक विकेटको जित हासिल गरेको छ । 

– २५ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई चितवन राइनोजले ३२ रनले पराजित गरेको हो । 

–२४ औँ खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । पोखरालाई काठमाडौँ गुर्खाजले ६ विकेटले हराएको हो । 

–२३ औँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो । 

– २२ औँ खेलमा लिगको अन्तिम खेल खेलेको लुम्बिनी लायन्सले कर्णाली याक्ससँग ५ रनको हार बेहोर्यो । 

–२१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

–२० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ । विराटनगर किंग्सले १३९ रन बनाएकामा पोखरा एभेन्जर्सले पनि बराबरी स्कोर बनाएपछि सुपर ओभरमा पोखरा १३ रनले विजयी भयो । पोखराले १८ रन बनाउँदा विराटनगर ५ रनमै रोकियो । सुपर ओभरबाट छिनोफानो भएको यो पहिलो खेल हो । 

–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । 

–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो । 

–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए । 

–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ । 

–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । 

–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो । 

–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । 
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । 

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।

– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ