पोखरा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन ओटा मुद्दा दर्ता भएको छ ।
उनी पक्राउ परेको ९२ दिनपछि कास्की जिल्ला अदालतमा ३ ओटा कसूरमा मुद्दा दर्ता भएको हो । लामिछानेविरुद्ध कास्की अदालतमा अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन् ।
उनका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको हो । उनीसहित ४४ जनालाई विपक्षी बनाइएको छ ।
सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परी ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध अदातलमा मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको थियो ।
सहकारी ठगीमा लामिछानेमाथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो ।
चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आज मात्रै अदालतमा मुद्दा दर्ता गरिएको हो । कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आजसम्म समयसीमा भएकाले आजै मुद्दा दर्ता भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
मुद्दा दर्ता भएसँगै उनलाई हिरासतमै राखेर कारबाही प्रकिया अगाडि बढाउने कि तारेखमा राखेर गर्ने भन्ने निर्णय अदालतले गर्नेछ ।