दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२औँ स्व. सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश सिंह बोगटीले जितेका छन् ।
तनहुँको सदरमुकाम दमौलीस्थित अनसनचोकदेखि छाब्दीबाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जितेका हुन् ।
प्रतियोगितामा नुवाकोटका संजय तामाङले २९ मिनेट २१ सेकेण्डमा उक्त दुरी पुरा गरी द्वितीय र तनहुँको ऋषिङ गाउँपालिका-४ भिरकोटका अमृत विश्वकर्माले ३० मिनेटमा सो दुरी पुरा गरी तृतीय भएका छन् ।।
त्यस्तै महिलातर्फ ५५ मिनेटमा दूरी पार गर्दै दमौलीकी चेतना कटुवाल प्रथम र ४५ मिनेटमा दूरी पार गर्दै दमौलीका १० वर्षीय संगम रानाभाट बाल धावकतर्फ प्रथम भएको क्लब अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथमलाई रु १५ हजार ५ सय, द्वितीय हुनेलाई रु १२ हजार ५ सय र तृतीय हुनेलाई रु ८ हजार ५ सय पुरस्कार प्रदान गरिएको छ । महिलातर्फ प्रथम र बाल धावकलाई जनही १ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।
विगतका वर्षभन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा एक सय ११ जना धावकको सहभागिता रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।
विगतका वर्षमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरे पनि केहि वर्ष यता दौडको रुट परिवर्तन गरिएको हो ।
छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबर्द्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लवका अध्यक्ष अधिकारीले जानकारी दिए ।
दमौलीको अनसन चौतारीबाट शुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दीबाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो । यस पटकको प्रतियोगितामा विभागीय धावकलाई सहभागि नगराईएको अध्यक्ष अधिकारीले बताए ।
भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रमको उद्घाटन व्यास नगरपालिकामा प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा न्यौपानेले खेलकुदले अनुशासन र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताए ।
उनले थपे, ‘व्यास नगरपालिकाले पनि दौडलाई महत्व दिएर सहिद दिवस र नारी दिवसमा कार्यक्रम गर्दै आइरहेको छौं ।’
यस्तै कार्यक्रमको समापन समारोहको प्रमुख अतिथि छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापा थिए ।
सो अवसरमा अध्यक्ष थापाले रोटर्याक्टको दौडले छाब्दीको प्रचारमा सहयोग पुगेको बताए ।
क्लबको संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा क्लबले हरेक वर्ष देशव्यापी रक्तदानसँगै दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।