बेसहाराहरूको लागि न्याय दूर भएको गुनासो छ- प्रधानन्यायाधीश [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २० शनिबार
528
Shares
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरूको लागि न्याय दूर भएको गुनासो आएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले असहाय, विपन्न, कमजोर, बेसहाराहरूको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरू मेट्न वरिष्ठ अधिवक्ताहरूले सङ्कल्प गर्नुपर्ने बताए ।
उनले इच्छा र सङ्कल्प लिएको खण्डमा असम्भव केही नरहेको बताए । उनले अधिवक्ताहरू पथप्रदर्शक हुनुपर्ने पनि बताए । उनले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुटाउन आग्रह गरे । उनले आम नागरिकहरूबाट पाएको आशीर्वाद वरिष्ठ अधिवक्ताको उपाधि भन्दा ठूलो हुने बताए ।
प्रधानन्यायाधीश राउतले भने, ‘वरिष्ठहरूलाई मैले भन्नुपर्ने र मेरो अपेक्षा रहेको कुरा के छ भने असहाय, विपन्न, कमजोर, बेसहाराहरूको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो छ । न्यायसँग एक्सेस नै हुन सकेन भन्ने जनगुनासो छ । यस्तो गुनासोहरूलाई मेट्न, हटाउन तपाईँहरूले सङ्कल्प गरे र इच्छा गरे भने त्यो असम्भव छैन । तपाईँहरू इण्डिसिएटर हुनुस् । तपाईँहरू पथप्रदर्शक हुनुपर्छ । तपाईँहरू समाजका कुरा बुझेका, जानेका र व्यहोरेका अगुवा पनि हो । तपाईँहरू प्रबुद्ध त हुँदै हो, वकालत त वरिष्ठज्युहरुले जिन्दगीभर गर्नुहोला नि त्यो गर्न पाइन्छ । तर अलिअलि समय, अलिअलि ज्ञान, क्षमता असहाय, विपन्न र कमजोरका लागि छुटाइदिनुस् न । म तपाईंहरुलाई नम्रतापूर्वक अनुरोध गर्दछु । मैले यसै भनेको छैन, यसले मान्छेहरूबाट तपाईँहरूले ब्लेसिङ पाउनु हुन्छ, त्यो भनेको त्यो तपाईँहरूको उपाधि भन्दा ठूलो कुरा हो । त्यस्तो पवित्र कुरालाई यो एउटा अवसरको रूपमा उपयोग गर्नुपर्छ ।’
प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्त्वाकाङ्क्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरूले मद्दत गरे उद्देश्य पूरा हुने दाबी गरे ।