arrow

डोनाल्ड ट्रम्पको पुनरागमन र विश्व राजनीतिमा प्रभाव

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८१ माघ ५ शनिबार
rajendra-panthi-81-105.jpg

सन् २०२४ विश्वकै इतिहासमै सबैभन्दा ठूलो निर्वाचन वर्ष बन्यो। विश्वकै आधा जनसंख्या सहभागी भई करिब ७० देशहरू जस्तै; बंगलादेश,ताइवान, पाकिस्तान, फिनल्यान्ड, इन्डोनेसिया, रुस, दक्षिण कोरिया, भारत, युरोपिय युनियन, बेलायत, श्रीलंका, संयुक्त राज्य अमेरिका लगायतमा निर्वाचन सम्पन्न भएको छ। लोकतान्त्रिक मूल्य मान्यता अनुसार लोकतन्त्रलाई थप बलियो र जनताको अधिकार सुरक्षित बनाउने एउटा प्रमुख साधन आवधिक निर्वाचन नै मानिन्छ ।

सन् २०२४ को  विश्व निर्वाचन गतिविधि र परिणामलाई हेर्दा केही आश्चर्य र अस्वभाविक घटनाहरू पनि देखा परे। विश्वकै एक शक्तिशाली मुलुक रुसमा नक्कली निर्वाचन भयो भनेर आरोप लगाइएको छ । केही देशहरू दायाँ र केही देशहरू बायाँ ढल्किए । अमेरिका र बेलायतमा मिडियामा गरिएका अडकलबाजी भन्दा भिन्न आश्चर्यलाग्दा परिणाम आए । भारतमा नरेन्द्र मोदी पुनः विजयी भए पनि लोकप्रिय मत आएन ।

अमेरिकी राष्ट्रपति निर्वाचन

गत नोभेम्बर ५ मा भएको ४७ औँ अमेरिकी राष्ट्रपतिको लागि ६३ औँ पटकको निर्वाचन सम्पन्न भएको छ। संयुक्त राज्य अमेरिकामा डोनाल्ड जे ट्रम्प ४७ औँ राष्ट्रपतिको रुपमा  दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकाको कानून अनुसार आगामी जनवरी २० मा उनले पदभार ग्रहण गर्दैछन् ।ट्रम्प सन् २०१६ मा ४५ औँ राष्ट्रपतिमा निर्वाचित भएका  थिए भने सन् २०२० मा प्रतिस्पर्धी त भए तर वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भए ।

अहिले सन् २०२४ मा उनी आफ्नो पार्टी रिपब्लिकनबाट पुनः उम्मेदवारी दिई डेमोक्रेटिक उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरी भारी बहुमतले विजयी भएका छन् । अमेरिकामा प्रमुख रुपमा मुख्य दुई दल नै स्थानीय तहदेखि केन्द्रसम्म राजनीतिमा सक्रिय देखिन्छन् । अन्य दल नभएका भने होइनन् । सक्रिय र स्थापित भएका छैनन् ।

अमेरिकामा स्थापित राजनैतिक दलहरूको इतिहासलाई हेर्दा सन् १७९० मा ह्यामिल्टन र जेफर्सनले आफ्नो विचार प्रवाह गर्न संगठन खोलेका थिए । ह्यामिल्टनले फेडेरलिस्ट र जेफर्सनले डेमोक्रेटिक– रिपब्लिकन पार्टी खोले । 

सन् १८५० मा यी दलहरू दर्ता भएका थिए । यी दुई पार्टीका नामबाट अमेरिकामा लगभग ६० वर्ष राजनीति चल्यो । अहिले अमेरिकाको राजनीतिमा दुई प्रमुख दलहरू डेमोक्रेटिक र रिपब्लिकन मुख्य भूमिकामा रहेका छन् ।अमेरिकाको प्रथम राष्ट्रपति जर्ज वासिङ्टन कुनै दलको नभइ स्वतन्त्र थिए।उनी ३० अप्रिल १७८९ देखि ४ मार्च, १७९७ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए । 

यसैगरी अमेरिकाको १६ औं राष्ट्रपति अब्राहम लिङ्कन हुन् र अहिलेका वर्तमान राष्ट्रपति जो बाइडेन ४६ औं हुन् भने नवनिर्वाचित रास्ट्रपति डोनाल्ड ट्रम्प ४७ औं हुन्।अमेरिकामा संघ , राज्य र स्थानीय गरी तीन सरकारहरू रहेका छन् । केन्द्रीय सरकारका अतिरिक्त प्रत्येक राज्यमा एक राज्यपाल,एक विधायक र एक न्यायपालिकाको व्यवस्था रहेको छ।

देशको मुख्य संविधानका अतिरिक्त प्रत्येक राज्यका आ–आफ्नै संविधान पनि छन् ।अमेरिकामा ५० राज्य सरकार र राज्य सरकार अन्तर्गतका ३,१२९ जिल्ला सरकार (काउन्टी) र बीस हजार नगरपालिका छन् । यस्तै टाउन १६,५०० र स्कुल डिस्टिक १३,००० तथा स्पेसल डिस्टिक ३७ हजार रहेका छन्।यी निकायहरूमा जनताको मतदानबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न दलहरूको प्रतिनिधित्व हुने गरी कानुन अनुसार आवधिक निर्वाचन हुने गर्दछ।विश्वमा अमेरिका लोकतान्त्रिक मूल्य मा

अमेरिकाको राजनीतिक इतिहासलाई नियाल्दा यहाँको व्यवस्थित र लिखित इतिहास कोलम्बसको आगमन भएपछि नै भएको हो।कोलम्बस इटालियन हुन् । उनले सन् १४९२ मा अमेरिका पत्ता लगाएका थिए।कोलम्बस इन्डिया(भारत ) भन्ने भूभाग छ भनी त्यसको खोजीमा पानी जहाजमा निस्किएका थिए उनले खोज्दै जादा नयाँ भूभाग  पत्ता लगाए र त्यसैलाई इन्डिया भनी नामकरण गरे र त्यही कोलम्बसले पत्ता लगाएको इन्डिया नै पछि अमेरिका बनेको हो।

सन् १५०७ मा श्यामउलरले विश्वको नयाँ नक्सा बनाए र कोलम्बसले पत्ता लगाएको त्यो भूभागलाई अमेरिका भनी नामकरण गरेका थिए। विश्वको नक्सा अनुसार त इन्डिया(भारत)दक्षिण एसियामा पर्दथ्यो।

कोलम्बसले पत्ता लगाएको ठाउँको नाम परिवर्तन भए पनि त्यहाँका बासिन्दालाई पछिसम्म नै इन्डियन नै भनिन्थ्यो । पछि नेटिभ अमेरिकन भनिन थालियो र अहिले पनि त्यो वंश परम्पराका मानिसहरूलाई नेटिभ अमेरिकन नै भनिन्छ।अमेरिकाका अलास्का,ओक्लाहोमा,न्यु मेक्सिको, साउथडाकोटा,नर्थडाकोटा, मोन्टाना आदि राज्यहरूमा यी जातिहरूको बसोबास ज्यादा रहेको छ।

डोनाल्ड ट्रम्पको पुनरागमन

अमेरिकामा भर्खरै नोभेम्बर ५ मा सम्पन्न भएको राष्ट्रपति निर्वाचनको सवाल र परिणामका बारेमा अमेरिका यसको छिमेकी मुलुक मात्र नभएर  विश्व राजनीतिमा नै बहस,हलचल, अनेकौं शंका र उपशंकाहरू र गफहरू पैदा भइरहेकाका छन्।

अमेरिका आर्थिक, सामरिक,सैनिक, व्यापारिक, प्राविधिक लगायतका दृष्टिकोणले विश्वकै एक नम्बरकै मुलुक भनेर  तथ्यगत रुपमै प्रमाणित भएको छ।अमेरिकाको राजनीति र नेतृत्व परिवर्तनले विश्वमा नै ठूलो प्रभाव पार्ने हुनाले पनि यसको चर्चा हुनु स्वाभाविक नै हो।

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिमा थुप्रै किसिमका कानुनी र राजनीतिक अधिकारहरू रहेका हुन्छन्। अमेरिकी राष्ट्रपति कानुनी रुपमै राज्य संचालनको लागि अत्यन्तै शक्तिशाली हुन्छन्।अझै यसपालि त संसदको दुवै सदनमा रिपब्लिकन पार्टीको स्पष्ट बहुमत आएकोको छ। ट्रम्पले गर्न सक्ने  जुनसुकै वा जस्तोसुकै निर्णय पनि पास हुनलाई गाह्रो देखिँदैन।

अघिल्लो कार्यकालको तुलनामा ट्रम्प जनमत र संसदका दृष्टिकोणले झन शक्तिशाली भएर देखिएका छन्।अमेरिकाको राष्ट्रपतिको कुनै एक सानो निर्णयले विश्वको अर्थतन्त्र,व्यापार,युद्ध,विकास, राजनीति आदि थुप्रै विषय र घटनालाई प्रभावित पार्ने हुनाले विश्वभरी नै अमेरिकी निर्वाचनलाई चासोको विषय बनाइनु स्वाभाविकै पनि   देखिन्छ।

नवनिर्वाचित डोनाल्ड ट्रम्पले पपुलिज्मको नारा अगाडि सारेको हुनाले संचार,सन्जाल र विश्वराजनीतिमा पनि उनको चर्चा अलि ज्यादा भएको देखिन्छ।उनले चुनावी प्रक्रियामा जो बाइडेन र कमला ह्यारिस प्रति अत्यन्तै निकृष्ट किसिमको गाली,घृणा, आरोप लगाएका थिए।ट्रम्प बिलिनियर व्यापारी पनि हुन्। 

चुनावी गतिविधिकै क्रममा एकपटक ट्रम्पमाथि गोलि प्रहार पनि भएको थियो।उनी उक्त घटनामा सामान्य घाइते भएका थिए।डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई सामूहिक निर्वासन गर्ने र विश्वमा विभिन्न देशका बीचको युद्धलाई अन्त्य गर्ने अनि विदेशी आयातित वस्तुलाई १० देखि ६० प्रतिशतसम्म थप कर लगाउने जस्ता घोषणाले पनि उनी चर्चामा छन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका अदालतमै पनि ३४ वटा विभिन्न किसिमका मुद्दा र अघिल्लो निर्वाचनको परिणामलाई अस्विकार गरी राष्ट्रपतिको पदभार ग्रहण कार्यक्रम स्थल संघीय संसदमा हुलदङ्गा मच्चाउन निर्देशन दिएको आरोपमा मुद्दा समेत खेपिरहेका छन्।

अहिलेको निर्वाचनमा  भारी मतसहित ट्रम्पलाई अमेरिकी जनताले बिजयी गराउनुमा एउटा रहस्य पनि देखिन्छ।खासगरी बाहिरी आवरणबाट अवलोकन गर्दा वर्तमान राष्ट्रपति जो बाइडेनको फितलो प्रशासन र उनको कार्यकालमा जनताले प्रत्यक्ष अनुभूति गर्न लायक कुनै नयाँ परिवर्तन नहुनु,देशमा बेरोजगारी र मूल्य वृद्धिको दर बढ्नु,बाइडेन प्रशासनले देशको अर्थतन्त्र,सुरक्षा र शासन व्यवस्थाभन्दा पनि युक्रेन र इजरायलको युद्धलाई आर्थिक र सैनिक सहायतालाई प्राथमिकता राखिनु, मतदानको दिन नजिक आउँदै गर्दा राष्ट्रपतिका उम्मेदवार बनेका बाइडेनले कमला ह्यारिसलाई नयाँ उम्मेदवारको रुपमा प्रस्ताव गरिनु,कमला ह्यारिसलाई चुनावी गतिविधि र प्रचारप्रसारको लागि प्रशस्त समय नहुनु,कमला ह्यारिससँग ट्रम्पको जस्तो पपुलिज्मको नारा नहुनु,विश्वकै धनाढ्यहरू एलन मस्क लगायतले ट्रम्पलाई ठूलो मात्रामा आर्थिक सहायता गर्दै चुनावी गतिविधिमै सहभागी हुनु,डेमोक्रेटिक बाट अश्वेत,आप्रवासी र महिला उम्मेदवारी हुनु नै प्रमुख कारण देखिन्छन्।

पपुलिज्मको नारा र शंका

अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकाल शासन गर्ने ट्रम्प १७ औं रास्ट्रपति हुन्।ट्रम्प पूर्वका १६ जना राष्ट्रपतिहरूले पहिलो र दोस्रो कार्यकाल लगातार बिजयी भएका थिए भने डोनाल्ड ट्रम्प एक कार्यकाल पूरा गरी दोस्रोपटक प्रतिस्पर्धामा पराजित भई तेस्रो पटकमा दोस्रो कार्यकालका लागि बिजयी भएका छन्।उनी यसरी निर्वाचित हुने पहिलो राष्ट्रपति हुन्।अमेरिकी इतिहासमा राष्ट्रपतिमा चौथोपटक लगातार निर्वाचित हुने व्यक्ति फ्र्याकलिन डि रुजभेल्ट हुन्।उनी अमेरिकाका ३२ औं राष्ट्रपति थिए।रुजभेल्टले सन् १९३३ देखि १९४५ सम्म शासन गरेका थिए।उनको चौथो कार्यकालमा करिब तीन महिनापछि निधन भएको थियो । 

अमेरिकामा सन् १७८९ देखि हरेक ४ वर्षमा राष्ट्रपतिको निर्वाचन हुने गर्दछ। सन् १८५१ को अमेरिकी संविधानको २२ औं संशोधनपछि भने राष्ट्रपति कार्यकाल दुईपटकमा सीमित गरिएको थियोे भने  सन् १८४५ देखि नोभेम्बर महिनाको पहिलो सोमबार पछिको पहिलो मंगलवारका दिन राष्ट्रपतिको निर्वाचन हुने कानुनी व्यवस्था रहेको छ र कुनै व्यक्ति दुईपटक भन्दा बढी राष्ट्रपति हुन सक्दैन।अमेरिकाले सन् १८६२ देखि विदेशमा रहेका आफ्ना देशका नागरिकले मतदान गर्न पाउने व्यवस्था लागु गरेको थियो ।

यसैगरी यहाँ अर्ली मतदानको व्यवस्था पनि छ।यस्तै यहाँ पोस्टल भोटिङको व्यवस्था रहेको छ। अमेरिकामा मुख्य रुपमा दुई राजनीतक दलहरू रिपप्ब्लिकन र डेमोक्रेटिक नै चुनावी  प्रतिस्पर्धामा देखिन्छन्।अहिलेसम्म १७ जना डेमोक्रेटिक र २० जना रिपब्लिकन रास्ट्रपति निर्वाचित भएका छन् ।

सन् १८२९ पछि कहिले डेमोक्रेटिक र कहिले रिपब्लिकन दल निर्वाचित हुँदै आएका छन्। बीचमा दुई कार्यकाल विङ दल निर्वाचित भएको थियो ।अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टन कुनै दलमा आबद्ध थिएनन् भने दोस्रो रास्ट्रपति जोन एडम्स फेडरलिस्ट दलबाट निर्वाचित भएका थिए । 

त्यस्तै सन् १८०१ देखि सन् १८२९ सम्म सात कार्यकाल चार जना रास्ट्रपतिले  डेमोक्रेटिक-रिपब्लिकन दलको प्रतिनिधिका रुपमा निर्वाचित भई नेतृत्व सम्हालेका थिए।यसैगरी प्रजातन्त्रका बारेमा प्रसिद्ध परिभाषा दिने अमेरिकी १६ औं राष्ट्रपति अब्राहम लिंकन रिपब्लिकन दलबाट निर्वाचित  हुने पहिलो राष्ट्रपति थिए।अब्राहम लिंकनले जनताले जनताद्वारा जनताका लागि गरिने शासन नै प्रजातन्त्र हो भनी परिभाषा दिएका थिए।आज विश्वमा लोकतन्त्र वा प्रजातन्त्रका सम्बन्धमा अनेकौं प्रश्नहरू उठ्न लागेको र कतै लोकतन्त्र नै अफ्ठ्यारो पर्न लागेको सन्दर्भमा अब्राहम लिंकनलाई सम्झनु पर्ने देखिन्छ।

अब्राहम लिंकनकै दलबाट निर्वाचित भएका राष्ट्रपति डोनाल्ड ट्रम्प नयाँ होइनन्,अमेरिकी जनताले एक कार्यकाल उनको शासन भोगेका र हेरिसकेका छन्।सन् २०२० को निर्वाचनमा भने डोनाल्ड ट्रम्पलाई पराजित गरी जो बाइडेन निर्वाचित भएका थिए।अहिले भारी मतसहित विजयी भएका डोनाल्ड ट्रम्पको सन् २०१६ देखि २०२० सम्मको शासनकाल राम्रै थियो भने किन उनी सन् २०२० को निर्वाचनमा पराजित भए भन्ने महत्त्वपूर्ण प्रश्न पनि उठ्न सक्छ ।

अनि सन् २०२० मा पराजित गराइएको त्यही उम्मेदवारलाई पुनः सन् २०२४ मा  किन बिजयी बनाइयो त?यो महत्त्वपूर्ण, रहस्यात्मक र गम्भीर बहस र समीक्षाको विषय हो। लोकतन्त्रको आत्मा र सुन्दर पक्ष भनेको स्वच्छ र प्रतिस्पर्धात्मक आवधिक निर्वाचन नै हो।लोकतन्त्रमा जनताहरू स्वतन्त्र र शक्तिशाली हुन्छन्,जनतामा निर्वाचन मार्फत उपयुक्त विकल्प रोज्ने अधिकार रहेको हुन्छ। लोकतान्त्रिक शासन व्यवस्थामा जनताहरू जहिले पनि राज्य अभिभावक बनोस् र दु:ख र सुखमा साथ देओस भनी रहेका हुन्छन्।

जनताले नेतृत्वलाई निकै गहिराईबाट हेरिरहेका पनि हुन्छन् । अहिले पनि अमेरिकी जनताले उपयुक्त विकल्प नै रोजेको देखिन्छ।डोनाल्ड ट्रम्पलाई विजयी हुनको लागि जो बाइडेन र कमला ह्यारिसको फितलो प्रशासन र उनको पपुलिज्मको नाराले नै  महत्त्वपूर्ण काम गरेको देखिन्छ।

`मेक अमेरिका ग्रेट अगेन´(एमईजीए) भन्ने डोनाल्ड ट्रम्पको प्रमुख राजनीतिक नारा हो। यस नारालाई उनले आफ्ना तिनवटै निर्वाचनमा लोकप्रिय बनाए र यो नारा निर्वाचन अभियानको लागि महत्त्वपूर्ण बन्यो। हुनत यो नारा पहिले नै सन् १९८० को निर्वाचनमा ४० औं राष्ट्रपति रोनाल्ड रेगनले अघि सारेका थिए । 

अमेरिकामा सन् १९८० मा अर्थव्यवस्था अत्यन्तै कमजोर हुँदा त्यो आर्थिक संकटलाई अन्त्य गर्न यो नारालाई अघि सार्दै आफ्नो अभियानको मुख्य एजेन्डाको रुपमा रेगनले मतदाताहरू समक्ष देशभक्तिको भावना जगाउन पनि यो नारा प्रयोग गरेका थिए। 

सन् २०१२ को राष्ट्रपति निर्वाचनमा बाराक ओबामालाई चुनौती दिन आफूपनि उम्मेदवार हुन सक्ने भन्दै ट्रम्पले सम्भावित उम्मेदवार हुन सकिन्छ भन्दै  `मेकिङ अमेरिका अगेन´भनी एक पुस्तक प्रकाशन गरेका पनि थिए। जनवरी १, २०१२ मा ट्रम्प समर्थकहरूको एक समूले टेक्सास सेक्रेटरी अफ स्टेटको कार्यालयमा `मेक अमेरिका ग्रेट अगेन´ भन्ने राजनीति दल नै बनाउन कागजी प्रक्रिया दायर गरेका थिए । 

डोलाल्ड ट्रम्प सन् २०१२ कै निर्वाचनमा तेस्रो दलको तर्फबाट राष्ट्रपतिको प्रतिस्पर्धामा उत्रिने तयारी रहेछ भन्ने देखिन्छ तर उनी नयाँ दलबाट प्रतिस्पर्धामा उठेनन्। डोनाल्ड ट्रम्पले सन् २०११ देखि नै `मेक अमेरिका ग्रेट अगेन´ भन्ने नारालाई सार्वजनिक अभिव्यक्ति,आम सञ्चार र सन्जाल मार्फत निकै महत्त्व दिएका छन्। 

डोनाल्ड ट्रम्पले यस नारा मार्फत आफूले फेरि अमेरिकालाई पुरानो अमेरिका जस्तै विश्वको ठूलो र शक्तिशाली देश बनाउने घोषणा गरेका छन्।हुन त अहिले नै अमेरिका ठूलो र शक्तिशाली छ, यहाँ भन्दा ठूलो के बनाउनु छ र भन्ने प्रश्न उठ्न सक्छ ।

डोनाल्ड ट्रम्पले प्रयोग गरेको पुरानो,विशाल भन्ने शब्दमा धेरै गहिरो र रहस्यमय कुरा लुकेको देखिन्छ।अमेरिका भनेको अमेरिकन नागरिकका लागि नै हुनुपर्छ भन्ने ट्रम्पको आशय देखिन्छ।उनले अमेरिकाको आप्रवासी नीति सच्याउनु पर्छ भनी जोड दिएका छन्। 

अमेरिकामा अमेरिकी नागरिकले अस्तित्व र  स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ भन्ने उनको मान्यता छ।डोनाल्ड ट्रम्पको राजनीतिक नारालाई उनका विरोधीले जातिवादी नारा हो भनी आरोप पनि लगाएका छन् । 

डोनाल्ड ट्रम्पले आप्रवासी नीतिलाई कडा गर्दै अमेरिका रहेका अबैधानिक नागरिकलाई सामूहिक रुपमा नै निर्वासन गरिनुपर्छ ,अमेरिकाको कर अमेरिकै नागरिकको लागि प्रयोग गर्नुपर्छ, संसारका युद्ध र द्वन्द्वलाई अमेरिकाले आर्थिक र सैनिक खर्च गरिनु हुन्न,अमेरिकाले अमेरिकालाई नै प्राथमिकता राख्नुपर्छ,अमेरिकी सीमा सुरक्षा कडा गरिनु पर्छ,व्यापार नीतिमा परिवर्तन गरिनु पर्छ र चीन,क्यानडा र मेक्सिको लगायतका मुलुकबाट आयातित समानमा थप कर लगाउनु पर्छ,औद्योगिक र व्यावसायिक करमा कटौती गर्नुपर्छ भन्ने जस्ता देशभक्ति र जनप्रिय एजेन्डा अगाडि सारेका छन् ।

अहिले नै डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश अघि नै यी र यस्ता एजेन्डा कार्यान्वयनका लागि काम गर्न सुरु गरेको देखिन्छ।डोनाल्ड ट्रम्पले भने जस्तै आप्रवासी र व्यापारी नीति परिवर्तन गरी कार्यान्वयनमा ल्याउन त्यति सजिलो र सहज भने छैन। थुप्रै कानूनी अड्चन देखिन्छन् । उनको यो लोकप्रियवाद नारा कति सफल हुन्छ त्यो समयले बताउनेछ।

डोनाल्ड ट्रम्पको एक कार्यकाल अमेरिकी नागरिकले हेरिसकेको हुनाले उनीमाथि थुप्रै प्रश्न र शंका नभएका भन्ने होइन। डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा अमेरिकामा मात्र नभएर विश्वभरी नै कोरोना महामारी फैलियो।कोरोना नियन्त्रण गर्नु र जनतालाई स्वास्थ्य सुविधा प्रबन्ध मिलाउनु नै उनको मुख्य काम देखियो। 

त्यसबेला कोरोना महामारीले धेरैले ज्यान गुमाउनु पर्यो र कतिले रोजगार गुमाए पनि ट्रम्प प्रशासनले जनताले  प्रत्यक्ष भोग्ने  मूल्य नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका निभाएको देखिन्थ्यो। डोनाल्ड ट्रम्पको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रै रह्यो,जे होस्  विवादास्पद रहेन।प्रमुख समस्या कोरोना नै भएकोले ट्रम्पले कूटनीतिक सम्बन्धमा चासो राखेर कुनै समस्या वा विवाद व्यहोर्नु परेन तर पनि ट्रम्प पपुलिज्म र असक्षम भए भन्ने आरोप भने व्यहोर्नु परेको छ।

कतै ट्रम्प उल्टो बाटो त हिँड्दै छैनन्  ?

वर्डओमिटर अनुसार अहिलेको विश्वको जनसंख्या करिब ८ अरब र अमेरिकाको जनसंख्या करिब ३३४ मिलियन अर्थात  ३४ करोड ४० लाख रहेको छ।हालै सम्पन्न निर्वाचनमा कुल योग्य मतदाताको सख्या करिब २५२.२ मिलियन थियो । तीमध्ये लगभग १६८.३  मिलियनले मतदान गरेका थिए।जसले मतदानको दर करिब ६३.२ प्रतिशत हुन्छ । 

आज विश्व भौगोलिक रुपमा सीमा रहित हुन लागेको सन्दर्भमा डोनाल्ड  ट्रम्पले अमेरिकी सीमा र आप्रवासी नीतिमा कडा गर्न खोजिनुले कतै यो उनको उल्टो बाटोको यात्रा त हुँदैन भनेर शंका गर्न सकिन्छ। हुनत डोनाल्ड ट्रम्पले देशलाई सुरक्षित र थप बलियो  बनाउन यो अभियान अगाडि सारेको भनिरहेका छन् । अमेरिकामा सन् २०२३ को एक तथ्यांक अनुसार करिब १५ प्रतिशत वैधानिक आप्रवासी नै रहेका छन्। डोनाल्ड ट्रम्पकै भनाइ अनुसार करिब १२ मिलियन(१ करोड २० लाख) कागजपत्रविहीन र अवैधानिक आप्रवासीहरू रहेका छन् । 

विश्वका प्रायः सबै मुलुकका मानिसहरू स्थायी र अस्थायी रुपमा अमेरिकामा बसोबास गर्छन्।अमेरिका वर्षौँदेखि आप्रवासी मुलुकमै स्थापित भएकोले अवैध नागरिकलाई पनि निर्वासन गर्न ट्रम्पले नारामै भनेजस्तै त्यति सजिलो भने छैन । थुप्रै कानूनी झन्झडहरू रहेका छन्। कतिपय कानूनहरू संसदबाट नै परिवर्तन गर्नुपर्छ। अमेरिकी संसदमा मूल अमेरिकी मात्र नभएर आप्रवासी अमेरिकीहरूको पनि प्रतिनिधिमूलक प्रतिनिधित्व रहेको छ । 

अमेरिकामा खासगरी मेक्सिको,भेनेजुएला, ग्वाटेमाला,क्युवा, कोलम्बिया,हैटी,एल साल्भाडोर, निकारागुवा आदि देशबाट अवैध नागरिक भित्रिरहेको बताइन्छ । अवैध नागरिकले अमेरिकाको श्रम बजार,शान्तिसुरक्षा,स्वास्थ्य विमा र कर व्यवस्थापनमा असर पुर्याएको भन्ने ट्रम्पको मूल्यांकन र आरोप छ।

डोनाल्ड ट्रम्पको अर्को प्रमुख एजेन्डा वा प्रस्ताव भनेको अहिलेको व्यापार नीतिमा आमूल परिवर्तन गर्नुपर्छ भन्ने नै हो।विश्वकै कारखाना भनेर चिनिने चीनको व्यापारिक सम्बन्ध र करनीतिलाई डोनाल्ड ट्रम्पले परिवर्तन गर्ने भनेका छन् । विश्वमै औद्योगिक, व्यावसायिक,व्यापारिक,श्रम बजारमा चीनको ठूलो हिस्सा र योगदान रहेको छ। 

संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठनको एक रिपोर्ट अनुसार विश्वमा  प्रयोग हुने करिब एकतिहाई वस्तुको उत्पादन चीनले गरिरहेको छ।चीनको सामान्य भन्सार प्रशासन अनुसार सन् २०२३ मा कुल आयात मूल्य १७.९९ ट्रिलियन र निर्यात २३.७७ ट्रिलियन युआन थियो ।अमेरिकी बजारमा चीनमा उत्पादित वस्तुहरूले ठूलो हिस्सा ओगटेका छन्।

खासगरी अमेरिकामा चीनबाट आयातित वस्तुहरूमा इलेक्ट्रिकल मेसिन र कार,लिथियम ब्याट्री,सौर्य सेल,कपडा,अटोमोबाइल, फलाम, मोबाइल फोन,प्लास्टिक सामग्री,कृषि उपज आदि थुप्रै रहेका छन्। 

चीनबाट आयातित वस्तुलाई थप कर लगाउँदा वस्तुको मूल्य स्वाभाविक रुपमा बढ्छ र यसले अमेरिकी जनतालाई प्रत्यक्ष असर पार्दछ। ट्रम्पले कुनै वैकल्पिक आधार नै नदिई एकोहोरो सुगा रटाईले उनको योजना सफल हुन गार्‍हो हुने पनि देखिन्छ। अहिले चाइनिज वस्तुको विकल्प नहुनु र जनताको आम्दानीमा पनि थप वृद्धि हुने सम्भावना नदेखिएकोले कार्यान्वयन पक्ष जटिल नै देखिन्छ।सन् २०२४ को एक पछिल्लो तथ्यांक अनुसार अमेरिकाको सबैभन्दा व्यापार साझेदार मुलुक भनेका चीन, क्यानडा र मेक्सिको नै हुन् ।

यी मुलुकबाट आयातित वस्तुमा थप कर बढाउने ट्रम्पको योजनाले देशमा मूल्य वृद्धि बढ्ने र मुद्रास्फीति निम्त्याउने सम्भावना पनि देखिन्छ।ट्रम्पको विदेश नीति अन्तर्गत रसिया र युक्रेनको युद्ध,इजरायल र हमासको युद्ध,अमेरिकाको नेटोसँगको सम्बन्ध र उनी आफूले चुनावीसभामा सम्बोधन  गर्दा भने अनुसार मध्यपूर्वको युद्धलाई अन्त्य गर्ने योजना कसरी सफल पार्न सक्छन् भन्ने नै चासोको विषय बनेको छ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक,कूटनीतिक र आप्रवासी नीति र कार्यान्वयन पक्ष अनि नतिजा नै उनको पपुलिज्म नाराको सफलता  र असफलताको परीक्षा हुनेछ। उनी परीक्षामा उत्तीर्ण हुन्छन् वा हुदैनन् भन्ने कुरा केही समयको अन्तराल पछि थाहा हुनेछ। अन्त्यमा डोनाल्ड ट्रम्पलाई सफल कार्यकालको शुभकामना । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ