नबिल बैङ्कद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
595
Shares
काठमाडौँ। नबिल बैङ्कले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ। भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैङ्कले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो।
बैङ्कले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड–१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी–१ का वडा अध्यक्ष ईन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको थियो। यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खास गरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरूको स्वास्थ्यमा पर्न सक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए।
बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का भूकम्पपीडितका लागि ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो। सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि यस पटक कम्बल वितरण गरिएको बैङ्कले जनाएको छ।
त्यस अवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यस वर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैङ्कलाई धन्यवाद दिए।
विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो।
नबिल बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ। बैङ्कले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ। बैङ्कको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौँ मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ।
विशेष गरी उद्यमशीलता विकासको क्षेत्रमा नबिल बैङ्कले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ मार्फत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स सञ्चालन गरी हालसम्म एक सय १७ वटा उद्यम स्थापना र एक हजार दुई सयभन्दा बढी रोजगारी सृजना गरेको छ।