arrow

यू–१९ महिला टी–२० विश्वकप

नेपाल र अष्ट्रेलिया मैदानमा, नेपालको कसिलो बलिङ, पूजालाई ३ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ९ बुधबार
u19-wc-w-nep-aus.jpg

काठमाडौँ । मलेसियामा जारी आईसीसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग खेलिरहेको छ ।  

खेलमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ । नेपालले कसिलो बलिङ गर्ने क्रममा अष्ट्रेलियाले १४ रन बनाउँदा ३ विकेट झारेको थियो । शुरुआती तीन ओटै विकेट कप्तान पूजा महतोले लिएकी हुन् । 

नेपालले पहिलो पटक अष्ट्रेलियासँग खेलिरहेको हो । पहिलो पटक नै विश्वकप खेलिरहेको नेपाल यसअघिका दुवै खेलमा पराजित हुँदै अर्को चरण प्रवेशको होडबाट लगभग बाहिरिए पनि अप्रत्याशित रुपले अर्को चरणमा पुग्न अष्ट्रेलियामाथि जित हासिल गरे पुग्नेछ । 

यसअघिको खेलमा स्कटल्याण्ड बंगलादेशसँग १८ रनले पराजित भएसँगै नेपालले अन्तिम मौका पाउने छ । 

यसअघि नेपाल बंगलादेशसँग ५ विकेटले र स्कटल्याण्डसँग मात्र १ विकेटले पराजित भएको थियो ।  

सनसनीपूर्ण खेल्दाखेल्दै स्कटल्याण्डसँग एक विकेटले पराजित 
सनसनीपूर्ण प्रदर्शन गर्दागर्दै नेपाल स्कटल्याण्डसँग पराजित भयो । सुधारोन्मुख र सनसनी खेल्दै नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । 

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १८.५ ओभरमा अलआउट हुँदै ७३ रनमा समेटियो । 

अर्को चरणमा पुग्ने सम्भावना लगभग गुमाएको नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक २७ रन बनाइन् । 

त्यस्तै साबित्री धामीले १० रन जोडिन् । त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।

माइसी मेसेरियाले १५ रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । 

जवाफमा नेपालले कसिलो बलिङ गर्दै दबाबमा राखेको भए पनि स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेटको क्षतिमा जित हासिल गर्यो । 

विकेटकिपर पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा रचना चौधरी र सीमना केसीले समान २–२ तथा पूजा महतो र करिष्मा गुरुङले १–१ विकेट लिए । तीन खेलाडी रनआउट भएका थिए । 

बंगलादेशविरुद्धको पहिलो खेल
नेपालले खराब शुरुआत गरेको छ । पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला टिमले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको हो । 

५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले १–१ विकेट लिए । 

यसअघि मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो । 

नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन् । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन् भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक–एक विकेट लिए । 

सन् २००७ बाट अन्तर्राष्ट्रिय महिला क्रिकेट थालेको नेपालको यो पहिलो ठूलो सहभागीता हो । 

नेपालले बंगलादेशसँग यसअघि एक पटकमात्र खेलेको थियो । गत महिना मलेसियामा नै आयोजना भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।

१६ टिम सहभागी
यो विश्वकपमा १६ राष्ट्र सहभागी छन् । चार समूहमा विभाजन गरी आपसमा खेलाई हरेक समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन् । 

१६ बाट १२ मा झारिएपछि दुई समूह हुनेछ । पहिलो समूहमा पहिलो चरणको समूह ए र डीका शीर्ष तीन टिम हुनेछन् भने दोस्रो समूहमा समूह बी र सीका टिम रहने छन् । 

सुपर सिक्सका दुवै समूहका दुई टिम सेमिफाइनलमा पुग्नेछन् । एउटा समूहको शीर्ष टिमले दोस्रो समूहको दोस्रो टिमसँग सेमिफाइनल खेल्नेछ । 

फाइनल खेल आगामी २ फेब्रुअरीमा हुनेछ । 

यस्तो छ प्रारम्भिक समूह विभाजन–
समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इन्डिज छन् ।

समूह ‘बी’ मा इङ्गल्याण्ड, पाकिस्तान, आयरल्याण्ड र अमेरिका रहेका छन् । 

समूह ‘सी’ मा दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, समोआ र नाजेरिया छन् । 

समूह ‘डी’ मा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ