सभापति कप फुटबल शुरु, सङ्कटासँग चर्च ब्वाइज निरीह [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
533
Shares
काठमाडौँ । राजधानीमा बिहीबारदेखि शुरु भएको सभापति कप पुरुष फुटबल प्रतियोगितामा सङ्कटा क्लबले विजयी सुरुआत गरेको छ । नेपाली कांग्रेसको खेलकुद संगठनले आयोजना गरेको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा सङ्कटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
सङ्कटाको जितमा अबेक रिर्चडले दुई गोल गरे भने चन्दन दासले एक गोल गरे । खेलको २३औँ मिनेटमै रिचर्डले सङ्कटालाई शुरुआती अग्रता दिलाए ।
त्यस्तै खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे । उक्त हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबार दिउँसो ३ बजे मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेता टोलीले रु २६ लाख तथा उपविजेता टोलीले रु १३ लाख प्राप्त गर्नेछ ।