चितवन । वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ । अघिल्लो वर्षभन्दा यो पटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यवसायीहरु बताउँछन् ।
साँझपख राप्ती नदी किनारका रेष्टुरेन्ट भरिन्छन् । किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन् । बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव सौराहामा देखिन्छ ।
त्यस्तै बाह्य तथा आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको छ जीप सफारी र हात्ती सफारी । कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ ।
पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकले जीप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् ।
यस सामुदायिक वनभित्र विभिन्न जंगली जनावरहरु नजिकबाट अवलोकन गर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो ।
यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिन्छ ।
वन्यजन्तुमा बाघ, गैँडा, हात्ती, चितुवा, चित्तल, मृग, मयुर, जङ्गली बदेललसँगै विभिन्न प्रजातिका चराहरु हेर्न पाइन्छ।