प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधि एपीएफलाई
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
650
Shares
फाप्ला । धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपीएफले उपाधि हात पारेको हो ।
योसँगै एपीएफले लगातार दोस्रोपटक उपाधि जितेको हो । उपाधिसँगै एपीएफले रु पाँच लाख पुरस्कार पाएको छ भने सुदूरपश्चिम उपविजेता हुँदै रु तीन लाख हात पार्यो ।
जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपीएफले १२ दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि ममता चौधरीले अविजित ४३, कप्तान इन्दू वर्माले नटआउट रहेर १८ रन जोडिन् ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १८ दशमलव एक ओभरमा ६७ रनमा समेटियो । जसमा ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ एपीएफकी कविता जोशीले तीन, कप्तान इन्दू बर्मा र सवनम राईले दुई–दुई विकेट हात पारे । कविता ‘प्लेयर अफ द म्याच’ चुनिएका छिन् । यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ७२ रन र पाँच विकेट हात पारेकी एपीएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भएकी हुन् ।
एपीएफका लागि दुई सय नौ रन बनाएकी ममता चौधरी वेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनिषा उपाध्याय बेस्ट बलर हुन सफल भइन् । प्लेयर अफ द सिरिजले रु ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई रु २५–२५ हजार पुरस्कार पाएका छन् ।
गत माघ १ गतेदेखि भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।
फाइनल खेलपछि आयोजित समारोहमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीसँगै खेलाडीहरूको उपस्थिति थियो ।