arrow

अब स्वयम्भूमा पनि गाडीको लाइसेन्स वितरण

यातायात व्यवस्था कार्यालय विस्तार

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
yatayat-office-bb.jpeg

काठमाडौँ । स्वयम्भूको ठूलो भर्‍याङबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु भएको छ । यातायात व्यवस्था विभागले आइतबार देखि ठूलो भर्‍याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो ।

कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यही पुस २७ गतेदेखि चावहिल र भक्तपुरको जगातीमा पनि कार्यालय खोलिने जानकारी दिए ।

“एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सवारी चालक अनुमतिपत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लाइन बस्नु पर्ने समस्या हट्नेछ, कार्यालयका कर्मचारी साथीहरुले समयमै सेवाग्राहीको काम गरिदिएर भिड अन्त गर्नुहुने विश्वास छ”, उनले भने ।

कार्यालयमा सोमबारदेखि सवारी चालक अनुमतिपत्र नवीकरण गरिने र एक हप्तापछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख वीरेन्द्र स्वाँरले बताए ।

अनुमतिपत्र लिन सेवाग्राहीको भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न तीन महिनाअघि निर्देशन दिएको थियो । निर्देशन अनुसार खुलेको सो कार्यालयको मासिक भाडा  एक लाख ३९ हजार पर्नेछ । चाबहिल र जगातीमा पनि घर भाडामै लिएर कार्यालय खोल्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।

नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमतिपत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत लिन सकिने व्यवस्था छ । विभागले एक साताअघिदेखि सवारी चालक अनुमतिपत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुआत गरेको छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको थियो । केही साता अघि मात्रै यातायात व्यवस्था कार्यालयको अनुगमन गर्न पुगेका यातायात मन्त्री रमेश लेखकले तत्काल तीन स्थानमा कार्यालयको सेवा विरस्तार गर्न निर्देशन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ