पूजा महतो यू–१९ महिला विश्वकपको टिम अफ द टुर्नामेन्टमा, उपाधि भारतलाई
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
747
Shares
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीकी अलराउन्डर पूजा महतो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) यू–१९ महिला विश्वकप क्रिकेटको ‘टिम अफ द टुर्नामेन्ट’ मा समावेश भएकी छिन् ।
आईसीसीले सोमबार घोषणा गरेको १२ खेलाडीको टिम अफ द टुर्नामेन्टमा पूजा पनि अटाएकी हुन् । यू–१९ की कप्तान पूजा टोलीमा पर्ने एसोसिएट राष्ट्रकी एक मात्रै खेलाडी हुन् ।
पूजाको कप्तानीमा नेपालले पहिलोपल्ट विश्वकपमा सहभागिता जनाएको थियो । नेपालले खेलेका सबै खेलमा पूजाको प्रदर्शन शानदार रहेको थियो ।
नेपाल समूह चरणका तीनै खेल गुमाउँदै सुपर फोरमा पुग्न असफल भयो । प्लेअफमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो।
पूजाले प्रतियोगिताभर १४.३ ओभर बलिङ गरिन् । जसमा उनले एक मेडनसहित ६३ रन खर्चेर ९ विकेट लिइन् ।
उनले मलेसियाविरुद्ध ३.५ ओभर बलिङ गर्दै ९ रन खर्चेर ४ विकेट लिएकी थिइन् । उनले ब्याटिङतर्फ ४ खेलमा ७० रन बनाएकी थिइन् । यस क्रममा उनले २३.३३ को औसत र ५१.८५ को स्ट्राइक रेट राखेकी थिइन् ।
‘टिम अफ द टुर्नामेन्ट’मा विश्वकप विजेता भारतका चार, उपविजेता दक्षिण अफ्रिकाका तीन, इङ्ल्याण्डका दुई तथा नेपाल, अस्ट्रेलिया र श्रीलंकाका समान एक खेलाडी समावेश भएका छन् ।
भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ९ रनले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकप जितेको छ ।
आइतबार मलेसियाको क्वालालम्पुरमा भएको फाइनलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा अलआउट हुँदै ८० रनमात्र बनायो ।
माइके भान भ्रूष्टले सर्वाधिक २३ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा गोन्गादी त्रिशाले ३ तथा विश्नाभी शर्मा, आयुशी शुक्ला र परुनिका सिसोदियाले २–२ विकेट लिए ।
जवाफमा भारतले ११.२ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो ।
त्रिशाले ३३ बलमा अविजित रहँदै ४४ तथा सानिका चल्केले २२ बलमा अविजित रहँदै २६ रन जोडिन् । त्रिशा प्लेयर अफ द फाइनल भइन् ।
त्यस्तै प्रतियोगिताभर ३०९ रन तथा ७ विकेट लिएकी त्रिशा नै प्लेयर अफ द सिरिज भएकी छिन् ।
प्रतियोगितामा १६ टिम सहभागी भएकामा चार समूहबाट हरेक समूहका शीर्ष तीन सुपर १२ मा पुगेका थिए भने त्यहाँ दुई समूहमा विभाजन गरी हरेक समूहका शीर्ष दुई सेमिफाइनलमा पुगेका थिए ।
अष्ट्रेलिया र इङ्गल्याण्ड सेमिफाइनलबाटै बाहिरिए ।
यू–१९ महिला टी–२० विश्वकपले खारियो नेपाल
नेपाली १९ वर्ष मुनिको महिला क्रिकेट टिम आईसीसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेट खेलेर अनुभवी बनेको छ ।
मलेसियामा सम्पन्न प्रतियोगितामा पहिलो पटक सहभागीता जनाएको नेपाली टिम समूह चरणबाट बाहिरिए पनि अभुवन प्रशस्तै बटुल्न सफल भएको छ ।
नेपालले समूह चरणका सबै तीन ओटै खेल हार्यो । नेपाल चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशसँग ५ विकेटले पराजित भयो । बंगलादेशले नेपाललाई एसिया कपमा पनि पराजित गरेको थियो । त्यस्तै नेपाल स्कटल्याण्डसँग मात्र १ विकेटले पराजित भयो । बलियो प्रतिस्पर्धी अष्ट्रेलियासँग भने ८३ रनले पराजित भयो ।
समूह चरणका सबै खेल हारेर अर्को चरण प्रवेश गर्न नसकेको नेपालले चौथो स्थानको प्लेअफमा भने आयोजक मलेसियामाथि ७ विकेटको शानदार जित निकाल्यो । योसँगै नेपालले आफूलाई अनुभवी टिमको रुपमा विकसित गर्न सफल भएको छ । कप्तान पूजा महतोको सशक्त अलराउन्ड प्रदर्शनले नेपाललाई थप आशावादी बनाएको छ ।
कुनै ब्याटर नचल्दा पूजा र कुनै बलर नचल्दा पनि पूजाले देखाएको कमालको स्थिर प्रदर्शनले उनी मानसिक रुपले निकै बलियो भएकोसमेत प्रमाणित भएको छ । यसले उनको भविष्य उज्ज्वल रहेको देखाउँछ ।
नेपालले छनोट चरण पार गरेर पहिलो पटक विश्वकप खेल्ने अवसर पाएको थियो । साथै नेपालले विश्वकपसँगै एसिया कप पनि पहिले पटक खेल्यो । समूह चरणमा पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्दै नेपाली टिमले अगाडि बढ्ने आशालाई थप मजबुत बनाएको छ ।
नेपाल शुक्रबार भएको खलमा पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमै अलआउट हुँदै ४५ रनमात्र जोड्न सक्यो । मुरिमानले मात्र दोहोरो स्कोर खडा गर्ने क्रममा १५ रन बनाएको इनिङ्समा चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् ।
नेपालका लागि शानदार बलिङ गर्ने क्रममा कप्तान पूजा महतोले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । त्यस्तै रचना चौधरीले ३ तथा रिया शर्मा र सीमना केसीले १–१ विकेट लिए ।
जवाफमा नेपालले ११ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान पूजाले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ३२ बलमा अविजित रहँदै २३ रन जोडिन् ।
उनी प्लेयअर अफ द म्याच भइन् । यससँगै पहिलो पटक विश्वकप खेलेको नेपालको मलेसिया विश्वकप सकियो ।
अष्ट्रेलिया विरुद्धको खेल
अष्ट्रेलिया विरुद्धको अन्तिम खेलमा नेपाल ८३ रनले पराजित भयो । अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १३९ रन बनायो ।
१४ रन जोड्दा ३ विकेट गुमाइसकेको अष्ट्रेलियाले त्यसपछि सम्मालिएर खेल्दै सम्मानित योगफल बनायो ।
काइम्हे ब्राएले ४५, इलेनर लारोसाले ३१ तथा हसरत गिलले अविजित रहँदै २१ बलमा ३० रन बनाइन् ।
नेपालका लागि कप्तान पूजा महतोले ३, सीमना केसीेले २ तथा रिया शर्माले १ विकेट लिइन् ।
जवाफमा नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ५६ रनमात्र बनाउन सक्यो । कप्तान पूजा महतोले १८ रन बनाए बाहेक कुनै पनि नेपाली ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
सनसनीपूर्ण खेल्दाखेल्दै स्कटल्याण्डसँग पराजित
सनसनीपूर्ण प्रदर्शन गर्दागर्दै नेपाल स्कटल्याण्डसँग पराजित भयो । सुधारोन्मुख र सनसनी खेल्दै नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १८.५ ओभरमा अलआउट हुँदै ७३ रनमा समेटियो ।
अर्को चरणमा पुग्ने सम्भावना लगभग गुमाएको नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक २७ रन बनाइन् ।
त्यस्तै साबित्री धामीले १० रन जोडिन् । त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
माइसी मेसेरियाले १५ रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् ।
जवाफमा नेपालले कसिलो बलिङ गर्दै दबाबमा राखेको भए पनि स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेटको क्षतिमा जित हासिल गर्यो ।
विकेटकिपर पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा रचना चौधरी र सीमना केसीले समान २–२ तथा पूजा महतो र करिष्मा गुरुङले १–१ विकेट लिए । तीन खेलाडी रनआउट भएका थिए ।
बंगलादेशविरुद्धको पहिलो खेल
नेपालले खराब शुरुआत गर्यो । पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला टिमले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको हो ।
५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले १–१ विकेट लिए ।
यसअघि मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन् । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन् भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक–एक विकेट लिए ।
सन् २००७ बाट अन्तर्राष्ट्रिय महिला क्रिकेट थालेको नेपालको यो पहिलो ठूलो सहभागीता हो ।
प्रारम्भिक समूह विभाजन–
समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इन्डिज छन् ।
समूह ‘बी’ मा इङ्गल्याण्ड, पाकिस्तान, आयरल्याण्ड र अमेरिका रहेका छन् ।
समूह ‘सी’ मा दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, समोआ र नाइजेरिया छन् ।
समूह ‘डी’ मा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् ।