arrow

त्रिकोणात्मक टी–२० महिला क्रिकेट

घरेलु मैदानमा नेपालको लज्जास्पद प्रदर्शन, चौथो हारसँगै बाहिरियो उपाधि होडबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
cricket-nep-w-2025-2-4.jpg

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० महिला क्रिकेट श्रृंखलामा लज्जास्पद प्रदर्शन गरेको छ । नेपाल लगातार चौथो खेलमा पराजित भएको हो । नेपालले थाइल्याण्ड र नेदरल्याण्ड्ससँग समान दुई खेल हारेको हो ।  

यो हारसँगै नेपालको घरेलु मैदानमै उपाधि होडको दौड पनि औपचारिक रुपले सकिएको छ ।

तीन टिमले आपसमा तीन खेल खेल्दा जुन टिमको अंक बढी हुन्छ उसैले उपाधि जित्नेछ । थाइल्याण्डले खेलेका ४ वटै खेल जितेको छ । 

नेदरल्याण्ड्सले २ खेल जितेको छ भने नेपाल जितविहीन छ । 

चौथो खेल
चौथो खेलमा मंगलबार नेपाल थाइल्याण्डसँग पराजित भयो । त्रिवि मैदान कीर्तिपुरमा जितका लागि १०७ रनको चुनौती पछ्याएको नेपालले  निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०१ रन बनाउन सकेपछि ५ रनले पराजित भएको हो । 

नेपालका लागि रुबिना क्षेत्रीले २६, कविता जोशीले २४ तथा पूजा महतोले १८ रन बनाइन् ।

थाइल्याण्डकी थिपत्छा पुत्थावोङले १० रन खर्चेर ४ विकेट लिइन् ।

यसअघि टस हारेर नेपालले पहिले बलिङ गर्दै थाइल्याण्डलाई ६ विकेटको क्षतिमा १०६ रनमा रोक्यो । आठ ओभर खेल्दा ५ विकैट गुमाएर ३४ रनमात्र बनाएको थाइल्याण्डले त्यसपछि भने राम्रो खेल्दा नेपालले सफलता हासिल गर्न सकेन ।

थाइल्याण्डले ५६ रन जोड्दा ६ विकेट गुमाए पनि त्यसपछि अविजित ५० रनको साझेदारी भएसँगै नेपाल कमजोर सावित भयो । चानिदा सुतिरुहाङले अविजित २८ तथा थिपात्छा पुत्हवोङले २५ रन बनाएकी थिइन् । 

नेपालका लागि मनिषा उपाध्यायले १८ रन खर्चेर ३ विकेट लिइन् । उनले ३ खेलमा ७ विकेट लिइसकेकी छिन् । पूजा महतो र रचना चौधरीले समान १ विकेट लिए ।

तेस्रो खेलको नतिजा
नेदरल्याण्ड्स विरुद्धको तेस्रो खेलमा नेपाल १५ रनले पराजित भयो । जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन जोडिन् । उनले ३२ बल खेल्ने क्रममा एक छक्का प्रहार गरिन् । त्यस्तै  सम्झना खड्काले २४ बलमा चार चौकाको सहयोगमा २३ रन बनाइन् भने पूजा महतोले १८, कविता जोशीले १४ तथा सीता रानामगरले अविजित १० रन बनाइन् । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४० रनको योगफल तयार गरेको थियो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन जोडिन् । उनले ३८ बलमा चार चौका र एक छक्का प्रहार गरिन् । त्यस्तै हिटर सिगर्सले २६ तथा रोविन रिके र फेबी मोलकिनरले समान २१ रन बनाइन् ।

नेपालका लागि सिताले रानामगरले पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक÷एक विकेट लिइन् ।

दोस्रो खेलको नतिजा

दोसो खेलमा नेपालले शनिबार थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको हो । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १०१ रन बनायो । 

कविता कुँवर र बिन्दू रावलले समान २५ तथा कप्तान इन्दू बर्माले १५ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याटरले दोहोरो स्कोर खडा गरेनन् । 

डेब्यु खेलाडीद्वय अलिशा यादव अविजित २ तथा मनिषा उपाध्याय १ रनमा अविजित रहे । थिपात्चा पुथावोङले ३ विकेट लिइन् । 

जवाफमा थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गर्यो । प्लेयर अफ द म्याच नानापत कोन्चारोएन्काईले ५८ बलमा अविजित रहँदै ६० रन जोडिन् । 

नेपालका लागि डेब्यु खेलाडी मनिषा उपाध्यायाले २ तथा कविता कुँवर, रुबिना क्षेत्री र कविता जोशीले १–१ विकेट लिए । 

पहिलो खेलको नतिजा

नेपालले कमजोर शुरुआत गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग २० रनको हार बेहोर्यो । 

जितका लागि नेपालले १५८ रनको चुनौती पछ्याउने क्रममा ७ विकेटको क्षतिमा १३७ रन बनायो । सीता राना मगरले ४५ बलमा २८, कविता जोशीले १७ बलमा २७ तथा पूजा महतोले १४ बलमा २४ रन बनाए बाहेक अन्य ब्याटरले उल्लेखनीय खेल्न सकेनन् । 

नेदरल्याण्ड्सकी क्यारोलिन डे लाङ्गे र इभा लिन्चले समान २–२ विकेट लिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १५७ रन बनायो । 

रोविने रिज्केले ४८ बलमा अविजित रहँदै ५९ तथा आइरिस विलिङले १३ बलमा अविजित रहँदै ३१ रन जोडिन् । 

यहाँनेर नेपाली टोलीकी कप्तान इन्दू वर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय विफल भएको थियो । 

नेपालका लागि यू–१९ टिमकी कप्तान पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सीता राना मगरले एक एक विकेट लिए । 

घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरेको हो । महिला टी–२० वरीयतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २० औँ स्थानमा छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ