ताप्लेजुङ । ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा भएको विवाद समाधान गर्न गठित स्थानीयको वार्ता टोली र सरकारी वार्ता टोलीबीच छ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार निर्माणकार्य तत्काललाई स्थगन गर्ने र माघ २७ गते हुने वार्तामा विस्तृतमा छलफल गर्ने भएको छ ।
त्यस्तै सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ को घटनामा छानबिन गरी कानूनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको बिना सर्त रिहाइको प्रक्रिया थाल्ने, मुम्कुम्लुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने र विस्तृतमा आगामी आइतबार बिहान ११ बजे वार्तामा बस्ने सहमति भएको हो ।