काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० महिला क्रिकेट श्रृंखलामा लगातार चार हारसहित उपाधि होडबाट बाहिरिएको नेपालले पाँचौँ खेलमा भने सुधारोन्मुख प्रदर्शन गरेको छ ।
नेपालले यसअघि थाइल्याण्ड र नेदरल्याण्ड्ससँग समान दुई खेल हारेकामा आज नेदरल्याण्ड्समाथि सम्मानजनक योगफल जोडेको हो ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।
नेपालका लागि यो खेलमा कप्तान इन्दू वर्मा र यू–१९ की कप्तान पूजा महतो दुवै खुल्न सके । पूजाले ५१ बलमा अविजित रहँदै सर्वाधिक रन बनाइन् । जारी प्रतियोगिताकै नेपालका तर्फबाट यो एकमात्र अर्धशतक हो ।
त्यस्तै इन्दूले ३७ बलमा ३९ रन बनाइन् । पूर्व कप्तान रुबिना क्षेत्रीले २० रन जोडिन् ।
चौथो खेल
चौथो खेलमा मंगलबार नेपाल थाइल्याण्डसँग पराजित भयो । त्रिवि मैदान कीर्तिपुरमा जितका लागि १०७ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०१ रन बनाउन सकेपछि ५ रनले पराजित भएको हो ।
नेपालका लागि रुबिना क्षेत्रीले २६, कविता जोशीले २४ तथा पूजा महतोले १८ रन बनाइन् ।
थाइल्याण्डकी थिपत्छा पुत्थावोङले १० रन खर्चेर ४ विकेट लिइन् ।
यसअघि टस हारेर नेपालले पहिले बलिङ गर्दै थाइल्याण्डलाई ६ विकेटको क्षतिमा १०६ रनमा रोक्यो । आठ ओभर खेल्दा ५ विकैट गुमाएर ३४ रनमात्र बनाएको थाइल्याण्डले त्यसपछि भने राम्रो खेल्दा नेपालले सफलता हासिल गर्न सकेन ।
थाइल्याण्डले ५६ रन जोड्दा ६ विकेट गुमाए पनि त्यसपछि अविजित ५० रनको साझेदारी भएसँगै नेपाल कमजोर सावित भयो । चानिदा सुतिरुहाङले अविजित २८ तथा थिपात्छा पुत्हवोङले २५ रन बनाएकी थिइन् ।
नेपालका लागि मनिषा उपाध्यायले १८ रन खर्चेर ३ विकेट लिइन् । उनले ३ खेलमा ७ विकेट लिइसकेकी छिन् । पूजा महतो र रचना चौधरीले समान १ विकेट लिए ।
तेस्रो खेलको नतिजा
नेदरल्याण्ड्स विरुद्धको तेस्रो खेलमा नेपाल १५ रनले पराजित भयो । जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन जोडिन् । उनले ३२ बल खेल्ने क्रममा एक छक्का प्रहार गरिन् । त्यस्तै सम्झना खड्काले २४ बलमा चार चौकाको सहयोगमा २३ रन बनाइन् भने पूजा महतोले १८, कविता जोशीले १४ तथा सीता रानामगरले अविजित १० रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४० रनको योगफल तयार गरेको थियो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन जोडिन् । उनले ३८ बलमा चार चौका र एक छक्का प्रहार गरिन् । त्यस्तै हिटर सिगर्सले २६ तथा रोविन रिके र फेबी मोलकिनरले समान २१ रन बनाइन् ।
नेपालका लागि सिताले रानामगरले पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक÷एक विकेट लिइन् ।
दोस्रो खेलको नतिजा
दोसो खेलमा नेपालले शनिबार थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको हो । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १०१ रन बनायो ।
कविता कुँवर र बिन्दू रावलले समान २५ तथा कप्तान इन्दू बर्माले १५ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याटरले दोहोरो स्कोर खडा गरेनन् ।
डेब्यु खेलाडीद्वय अलिशा यादव अविजित २ तथा मनिषा उपाध्याय १ रनमा अविजित रहे । थिपात्चा पुथावोङले ३ विकेट लिइन् ।
जवाफमा थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गर्यो । प्लेयर अफ द म्याच नानापत कोन्चारोएन्काईले ५८ बलमा अविजित रहँदै ६० रन जोडिन् ।
नेपालका लागि डेब्यु खेलाडी मनिषा उपाध्यायाले २ तथा कविता कुँवर, रुबिना क्षेत्री र कविता जोशीले १–१ विकेट लिए ।
पहिलो खेलको नतिजा
नेपालले कमजोर शुरुआत गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग २० रनको हार बेहोर्यो ।
जितका लागि नेपालले १५८ रनको चुनौती पछ्याउने क्रममा ७ विकेटको क्षतिमा १३७ रन बनायो । सीता राना मगरले ४५ बलमा २८, कविता जोशीले १७ बलमा २७ तथा पूजा महतोले १४ बलमा २४ रन बनाए बाहेक अन्य ब्याटरले उल्लेखनीय खेल्न सकेनन् ।
नेदरल्याण्ड्सकी क्यारोलिन डे लाङ्गे र इभा लिन्चले समान २–२ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १५७ रन बनायो ।
रोविने रिज्केले ४८ बलमा अविजित रहँदै ५९ तथा आइरिस विलिङले १३ बलमा अविजित रहँदै ३१ रन जोडिन् ।
यहाँनेर नेपाली टोलीकी कप्तान इन्दू वर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय विफल भएको थियो ।
नेपालका लागि यू–१९ टिमकी कप्तान पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सीता राना मगरले एक एक विकेट लिए ।
घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरेको हो । महिला टी–२० वरीयतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २० औँ स्थानमा छ ।
यो श्रृंखलाको खेल्ने शैली
सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।