काठमाडौँ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गर्दै सो क्षेत्रको अवलोकन गरेका छन् ।
नेपाल भ्रमणमा रहेका उनीहरुले आज सो उद्यानको अति विशिष्ट वृक्षरोपण क्षेत्रमा ‘सुन चाँप’ को बिरुवा रोपेपछि केही समय अवलोकन गरे । अधिराजकुमारी डचेस सोफीले उद्यानको मुख्य प्रवेशद्वार परिसरमा ‘लाली गुँरास’को बिरुवा रोपिन् । बेलायतकी महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९८६ मा सोही क्षेत्रमा ‘पुँवाले’ का दुई बिरुवा रोपेका थिए ।
सो अवसरमा अधिराजकुमार र अधिराजकुमारीले महारानी एलिजाबेथ र राजकुमार फिलिपले रोपेका पुँवालेका रुख राम्रोसँग हुर्केकोमा खुशी व्यक्त गरे । उनीहरुले उक्त कार्य लामो परम्परागत सम्बन्धको प्रतीक बनेको उल्लेख गरे ।
उनीहरुले बेलायतको सहयोगमा स्थापना गरिएको जैविक विविधता शैक्षिक उद्यानका साथै हर्बोरियन, अर्किड हाउसलगायत क्षेत्रको अवलोकन गरे । उनीहरुलाई वन तथा वातावरण राज्यमन्त्री रुपा विकले स्वागत गरेका थिए ।
साथै वनस्पति विभागका महानिर्देशक सञ्जिव राई र वनस्पति उद्यानका प्रमुख मधुसुदन थापाले उद्यान र वनस्पतिका बारेमा जानकारी गराए ।
नेपालमा पहिलो पटक भएको अधिराजकुमार र अधिराजकुमारीको यस भ्रमणले बेलायत–नेपाल सम्बन्धको गौरवशाली इतिहासलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । मंगलबार नेपाल आइपुगेका उनीहरुले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
बेलायतबाट प्राप्त सहायताले नेपालको मातृस्वास्थ्य सेवामा सुधारमा भइरहेको कामबारे उनीहरुले अवलोकन गरेका थिए । अधिराजकुमार एड्वर्डले बुधबार यहाँस्थित बेलायती दूतावासमा आयोजित कार्यक्रममा ‘ड्यूक अफ एडिनब्रा’ अन्तर्राष्ट्रिय पुरस्कारबाट लाभान्वित हुने युवाहरूलाई सम्मान गर्दै अन्तरक्रिया गरेका थिए ।
अधिराजकुमारी डचेस सोफीले बुधबार कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ गई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटवार्ता गरेका थिए ।
उनले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गरेका थिए । त्यस्तै अधिराजकुमार एड्वर्डले बुधबार भक्तपुरको भ्रमण गरी त्यहाँको कला संस्कृतिको अवलोकन गरी काठमा बुट्टासमेत खोपेका थिए ।
भ्रमणका क्रममा आजै उनीहरूले गोदावरीको फुल्चोकीस्थित अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (ईुसीमोड) को ‘लिभिङ माउण्टेन ल्याब’को अवलोकन गरे । उनीहरुले भ्रमणका क्रममा पोखरा पुगेर गोरवशाली गोर्खा सम्बन्ध मार्फतको सेवा भावसहितको साझा इतिहासलाई सराहना गर्ने जनाइएको छ ।
यो भ्रमण बेलायती शाही परिवारका सदस्यहरूबाट भएको चौधौँ नेपाल भ्रमण हो । महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, वेल्सका अधिराजकुमारका रूपमा राजा चाल्र्सले सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपालको भ्रमण गरेका थिए ।
सबैभन्दा पछिल्लो भ्रमण सन् २०१६ मा अधिराजकुमार ह्यारीबाट भएको थियो ।
गोदावरी उद्यानको बेलायतसँगको सम्बन्ध
नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसर पारेर २०७३ साल असोज ६ गते गोदावरीमा जैविक विविधता शैक्षिक उद्यान निर्माण गरिएको थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भइ कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
एक दशमलव तीन हेक्टर क्षेत्रफलको यो उद्यानको स्थापनामा लगभग तीनसय पचास वर्ष पहिले स्थापना भएको संयुक्त अधिराज्यको शाही वनस्पति उद्यानसँगको सम्बन्ध छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको औपचारिक भ्रमणका बेला विसं २०७८ कात्तिक १७ गते स्कटल्याण्डको एडिनब्रास्थित शाही बनस्पति उद्यानमा रहेको नेपाली बगैँचामा ‘भोजपत्र’को बिरुवा रोपेका थिए ।
सन् १८०२ मा बेलायती वैज्ञानिक फ्रान्सिस हेमिल्टनले नेपालको भ्रमण गरी वनस्पतिको अध्ययन गरेका थिए । पछि विभिन्न वैज्ञानिकहरुले नेपालको भ्रमण गरी आठभन्दा बढी नेपालका वनस्पति पत्ता लगाएका थिए ।
तत्कालीन राजा महेन्द्र विक्रम शाह विसं २०१७ मा बेलायत भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले बेलायतको शाही वनस्पति उद्यान अवलोकन गरेका थिए र नेपाल फर्केपछि उनले त्यस्तै उद्यान बनाउनुपर्छ भन्ने सोचले गोदावरीमा २०१९ सालमा उद्यान स्थापना गरेका थिए ।
दुई बेलायती डिजाइनरले सन् १९६१ देखि १९६५ सम्म नेपालमै बसेर सो उद्यानको डिजाईन गरेको बताइन्छ ।
बेलायतको सहकार्यमा बनेको यस उद्यानमा सन् १९८६ मा महारानी एलिजाबेथ द्वितीयले नेपाल भ्रमणका बेला वृक्षरोपण गरेकी थिइन् । पछि सो क्षेत्रमा विभिन्न समयमा १७ देशका राष्ट्रप्रमुखहरुले विभिन्न वनस्पति रोपेका छन् ।
प्राकृतिक सौन्दर्यले सुसज्जित फूलचोकी पर्वतको काखमा अवस्थित गोदावरी क्षेत्रमा रहेको यस उद्यानको ठूलो महत्व छ । राष्ट्रिय वनस्पति उद्यानले करीब पाँच हजार वनस्पति प्रजातीहरुको नमूना (हर्वेरियम) सङ्कलन गरी वनस्पति अध्ययन, अनुसन्धान र संरक्षणको क्षेत्रमा योगदान पुर्याएको जनाएको छ ।