arrow

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व 

नबिल एसएसई उद्यमशिलता प्रबर्धन कार्यक्रम सफल सावित, त्रिवि उत्साही

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
nabil-tu-81-10-24.jpg

काठमाडौँ । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामाजिक उद्यमशिलता प्रबर्धन कार्यक्रम सफल सावित भएको छ । 

त्रिभुवन विश्वविद्यालयमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले त्रिविसँग जोडिएर गरिएको कार्यक्रम सही सावित भएको भन्दै अझ यसलाई फराकिलो बनाएर लैजाने बताए । 

त्रिविका डिन प्राडा महानन्द चालिसेले तनि वर्षअघिदेखि त्रिविको स्कूल अफ म्यानेजमनेन्ट अन्तर्गत जोडिएर नबिल बैंकले उद्यमीहरु उत्पादनमुखी कार्यमा सघाउन मद्धत गरेको बताए । 

उनले सामाजिक समस्या समाधान गर्नका लागि कसैको जीवनस्तर उकास्न गरिएको यस नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरशिप (नबिल एसएसई) कार्यक्रमलाई अझ विस्तार गरी थप सशक्त बनाउनु पर्नेमा जोड दिए । 

कार्यक्रमको अध्यक्षता गरेका प्राडा चालिसेले भने, ‘यो यात्रालाई अझै व्यवस्थित र विकसित गर्दै जाऔँ, परिमार्जन गरी जाऔँ, मलाई विश्वास छ हामी अझै अगाडि जाने छौँ ।’

त्रिविका उपकूलपति प्राध्यापक केशवजंग बरालले जबसम्म सिद्धान्त र व्यावहारिकतालाई सँगसँगै लैजान सक्दैनौँ तबसम्म सफल हुन नसक्ने भन्दै विद्यार्थीले पढाइ सकेर जागिर खोज्न जाने प्रवृत्ति गलत भएको बताए । 

उनले भने, ‘विद्यार्थीको मानसिकतामा परिवर्तन गर्न जरुरी छ । त्यसैले त नबिलको सहकार्यमा भएको यो परामर्श कार्यक्रमले राम्रो फाइदा पुग्ने विश्वास लिएको छु ।’

उपकूलपति बरालले भने, ‘जागिर खाने हैन जागिर दिने मानसिकता बनाउनु पर्छ । नबिलको यो कार्यक्रम त्यतातर्फ नै अग्रसर भएको पाएको छु ।’

त्यस्तै त्रिविका रेक्टर प्राडा खड्ग केसीले नबिलको यो कार्यक्रम सफल हुँदै गएको दाबी गर्दै अब चौधरी समूहसँग मिलेर त्रिविले ठूलो कार्यक्रम गर्नुपर्नेमा जोड दिए । उनले आफू यसका लागि चौधरी समूहसँग विभिन्न चरणमा कुराकानी पनि गरिरहेको बताए । 

कार्यक्रममा त्रिविका प्राध्यापकहरुले नबिल बैंक र चौधरी समूहले अनुसन्धानको क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा जोड दिए । त्यसका लागि आफूहरुले योजना बनाउनेसमेत उनीहरुले बताए । 

कार्यक्रममा नबिल बैंकका निर्देशक निर्वाण चौधरीले बैंकले धेरै सामाजिक कार्यहरु गर्दै आएकामध्ये नबिल एसएसई कार्यक्रम महत्वपूर्ण भएको बताए । 

उनले अस्थिर राजनीति र बसाइसराईका कारण युवाहरु विदेसिएको अवस्थामा यो कार्यक्रम मार्फत नेपालमै बसेर केही गरौँ भन्ने युवालाई सघाउन सफल भएको दाबी गरे । 

उनले भने, ‘युवाहरु नेपालमै बसेर केही गरौँ भनेर हुटहुटी चलाइरहेका छन् । हामी निकै खुशी छौँ । उहाँहरुले बनाएका उत्पादनले नेपाललाई चिनाइरहेको छ ।’

निर्देशक चौधरीले त्रिवि र अन्य परिवारसँग मिलेर काम गरिरहेको भन्दै आफूहरु यो भन्दा अझ बढी गर्न चाहिरहेको बताए । घरेलु उत्पादनले इको सिस्टमलाईसमेत सघाइरहेको भन्दै यस्ता उद्यमी अझ बढी बढाउनेसमेत बताए । 

नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमलाई साना साना कार्यक्रम गरेर खर्च गर्नुभन्दा एउटा ठूलो कार्यक्रम गरेर सामाजिक उद्यमशिलता प्रबर्धन कार्यक्रम गर्न सफल भएको बताए । 

उनले नबिल बैंकले नबिल एसएसई फेलोशिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै स्थानीय तहमा सर्टिफिकेट कार्यक्रम चलिरहेको बताए । 

ढुंगानाले त्रिविसँग मिलेर गरिएको एसएसई फेलोशिप कार्यक्रम ८० प्रतिशत सफल भएको भन्दै यसलाई शतप्रतिशत बनाउन त्रिविले अझ बढी ध्यान दिने विश्वास गरे । 

उनले यो कार्यक्रम बसाइसराईलाई रोक्न र गएर फर्केकालाई नेपालमै राखेर सीपमूलक कार्य गर्न महत्वपूर्ण योगदान हुने बताए ।

ढुंगानाले बैैंकले विदेशबाट फर्केकालाई आयोजना र कार्यक्रमअनुसार १० करोड रुपैयाँसम्मको कर्जा दिन बैंक तयार भएकोसमेत बताए । उनीहरुलाई परामर्शदातासमेत दिन पनि बैंक तयार रहेको उनले सुनाए । 

कार्यक्रममा नबिल बैंकका डीसीईओ मनोजकुमार ज्ञवालीले त्रिविसँग समन्वय गरेर थालेको फेलोशिप कार्यक्रमले उद्यमीहरुलाई निकै नै फाइदा पुगेको बताए । उनले फेलोहरुलाई त्रिविमा छाडिदिने र त्रिविले फेलोशिप अन्तर्गत छ महिने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । साथै उनीहरुलाई एक वर्षको परामर्शसमेत दिइएको उनले बताए । 

डीसीईओ ज्ञवालीले ५६ जनाले यो कार्यक्रम पूरा गरेकोसमेत जानकारी दिए । यही कार्यक्रम मार्फत तीन वर्षमा १२ सय जनाले रोजगारसमेत प्राप्त गरेको जनाउँदै त्रिविसँगको सहकार्यका लागि अझ फराकिलो दायरा बनाउनेसमेत बताए । 

कार्यक्रममा दोस्रो र तेस्रो कार्यकालका कोहर्ट फेलोहरुलाई सर्टिफिकेटसमेत दिइएको थियो । उनीहरुले नबिल बैंकको यस फेलोशिप कार्यक्रमले आफ्नो जीवनमा महत्वपूर्ण ऊर्जा र दिशानिर्देश गरेको बताए । 

कार्यक्रममा फेलोहरुले आफूले उत्पादन गरेका सामानहरुले प्रदर्शनी एवं बिक्री कक्षसमेत सञ्चालन गरेका थिए । 

नबिल बैंकले सन् २०२१ को नोभेम्बर २६ मा नबिल एसएसई कार्यक्रमको शुरुआत गरेको थियो । यो नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ