महिला टी–२० श्रृङ्खलाको अन्तिम खेलमा पनि नेपालको कमजोर ब्याटिङ, थाइल्याण्डविरुद्ध ८१ रनमात्र
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
432
Shares
काठमाडौँ । महिला टी–२० श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध कमजोर ब्याटिङ गरेको छ । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो ।
सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन् ।
नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको छ । यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो ।
थाइल्याण्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर उपाधि सुरक्षित गरिसकेको छ ।
यसअघि थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग १ विकेटले पराजित भएको थियो ।