जनवरी ३१, २०२५ रातिको करिब ८ बजेको समय । खल्तीमा राखेको मोबाइलमा कम्पन हुन्छ। अमेरिकाको जागिर; फोन उठाउन नमिल्ने। भर्खर ब्रेकबाट आएको छु। कामबाट निस्किन गाह्रो छ। हाकिम नजिकै छन् । मनमा अनेक कुरा खेलिरहे । केही इमर्जेन्सी त हैन होला ?
कहाँ पुगिएन,के सोचिएन। यस्तो बेला सकारात्मक कुरा पटक्कै आउँदैन । केही मिनेटमै यो मस्तिष्कले घर,परिवार हुँदै अमेरिका र नेपालका सबै आफन्तलाई सोच्न भ्यायो। यो दिमाग यति द्रुतगतिमा दौडिएको थियो कि सेकेन्डभरमा कहिले कहाँ र कहिले कहाँ पुगेको थियो । खल्तीमा राखेको मोबाइलले यति धेरै तनाव दियो कि के कसरी वर्णन गरूँ ।
शब्दबाट वर्णन गर्नै सक्दिन। करिब आधा घन्टा बिताउन मलाई दिनभरिको समय जति लाग्यो । अन्तत: मनले मानेन । जे ता होला नि भनेर ट्वाइलेट जाने विचार गरेँ । आधाघन्टा पनि नबित्दै कामबाट निस्किदा हाकिमले यसो हेर्यो । म 'आइ विल ब्याक सुन' भन्दै निस्केँ । हतार हतार ट्वाइलेट गएँ र फोन हेरेँ। फोन खोल्दै झसङ भएँ । नेपालबाट कान्छी बहिनी कल्पनाको मिस कल र मेसेज आएको रहेछ।
साँच्चै नै झन् तर्सिएँ । किन यतिबेला,धत्तेरी ! केही भएछ कि क्याहो भन्ने भयो । अनि म्यासेज पढ्छु त,चिटचिट पसिना आए। अत्यन्तै दु:खद खबर रहेछ। कल्पनाले लेखेकी थिइन्-`माधवा दिदी हिजो राति बित्नु भयो,बिहान त्रिवेणी लैजानु भयो।´
म प्रायः माहिला बुबालाई फोन गर्दा माधीको खबर सोध्थेँ,ठीक छ भन्नुहुन्थ्यो। हामी माधवालाई घरपरिवारमा माधी भनी बोलाउथ्यौँ । मेरा हातखुट्टा काँपे । टाउको भारी भयो । १० बजे छुट्टी हुन्थ्यो । काम चाहिँ गरेँ। खासै ठूलो इमर्जेन्सी बिना काम छोड्न नमिल्ने हुनाले काम गरिरहेँ। आज घडी अत्यन्तै ढिला घुमे जस्तो लाग्यो। बल्लबल्ल १० बज्यो। अनि बहिनी कल्पना र माहिला बुबालाई फोन गरेँ ।सबै सोधेँ र थाहा पाएँ ।
दुई वर्ष पहिले नेपाल जाँदा बहिनीसित भेट भएको थियो । माधी, चिन्यौ नि भनेको खुशी हुँदै `अँ´ भनेको मानसपटलमा घुमिरहेको छ। माधवाले सबै कुरा सुन्थिन मात्र प्रतिक्रिया दिन वा बोल्न आउने थिएन। तर केही शब्दहरू बोल्थिन् । उनले आकाला,जा, च्या,नाइँ आदि जस्ता केही शब्दहरू बोल्थिन् । आफ्नो सरसफाइ आफैँ गर्न सक्दिनथिन् ।
भोक लागे नलागेको, खानेकुरा मीठो भए नभएको, कोही आफन्त आउँदा चिने नचिनेको प्रतिक्रिया दिन्थिन् । आफूलाई मन परेको र माया गर्ने मान्छे बस नजा भन्ने प्रतिक्रिया उनको हुन्थ्यो। अब बहिनी सम्झनामा मात्र रहिन्। उनको पञ्चभौतिक शरीर यो संसारमा रहेन। बहिनीसित यो जुनीमा धीत मारेर बोल्न पाइएन । बहिनीका कति धेरै मर्म र पीडा बुझ्न सकिएन । आफ्नै आमाको स्वर्गारोहण हुँदासमेत बहिनी रुन सकिनन् । उनको दर्द र भावना कसरी बुझ्ने र कसरी बुझाउने ? साँच्चै, बहिनी माधवा,तिम्रो मनमा पनि त हाम्रो मनमा भए जत्तिकै भावना, संवेदना, पीडा, माया, रोदन थिए होलान् । मुटु बलियो बनाएर कसैलाई नेदेखाई गयौ।
तिम्रा थोरै संवेदना केबल साङ्केतिक आधारमा बुझियो,कतिधेरै बुझ्नै सकिएन। बहिनी ! अब त तिमी केबल सम्झना मात्र रह्यौ। तिम्रो र माहिली आमाको भेट पक्कै हुन्छ होला। यस जुनीमा आमाछोरी बिचको गहिरो दु:खसुखको दोहोरो सम्वाद नभए पनि अर्को जुनीमा आमाको काखमा गुटुमुटिएर लुटुपुटु गर्दै धोको फेरेर रुनू, बोल्नू, सबै कुरा भन्नू है।
माधवा र अपाङ्गता
माधवाको जन्म वि.सं.२०३७ फागुन १५ गते गुल्मी जिल्लाको मदाने गाउँपालिका भनभनेमा भएको थियो ।उनी २०७७ सालदेखि बसाइँसराइ गरी रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा आफ्नै बुवा आमाको संरक्षकत्व र पालनपोषणमा दैनिकी बिताइरहेकी थिइन्। तीन वर्ष पहिले केही वर्ष नै बिरामी परेर माहिली आमाको स्वर्गारोहण भएको थियो ।माहिली आमा सकुशल रहुन्जेल त माधवाको सम्पूर्ण स्याहारसुसार र पालनपोषण उहाँबाटै भएको थियो ।आमाको निधन पछि उनको सम्पूर्ण स्याहारसुसार विशेषत:कान्छी बहिनी सीताले गरिन्। धन्य,सीता ! तिमी सीता नै हौँ। सीताका बोली र वचन, मिजासीपन, लगनशीलता,कर्तव्यबोध,साहसीपन र धैर्यता अनुकरणीय नै छन् ।
माधवा जन्मजात अपाङ्गता भएकी थिइन् । बुबाआमालाई छोराछोरी अपाङ्गता भएर जन्मिनु भन्दा ठूलो पीडा के हुन सक्छ र। ती पीडाहरू शब्दबाट वर्णन गर्न गाह्रो हुन्छ। जब बच्चा गर्भमा रहन्छ,त्यसपछि नै बुबाआमाका कति धेरै कौतुहलता र खुशी हुन्छन् । अझ हाम्रो जस्तो पूर्वीय संस्कारलाई मान्यता दिने समाजमा त झन् छोराछोरीबाट कति ठूला आशा र सपना हुन्छन् । फूलबारीमा फुल्ने फूलबाट रङ्गिने सपना कसको हुन्न र ? बच्चा जन्माउनदेखि हुर्काउन, बढाउन पढाउन, कति दु:ख र गार्हो हुन्छ अनि बच्चा जन्मेपछिको खुशी र आशा पनि कति धेरै हुन्छन् । यी त अभिव्यक्तिका कुरा भन्दा ज्यादा अनुभूतिकै कुरा रहेछन् ।
यस धर्तीमा हरेक मानिस जन्मदा उस्तै देखिन्छन् । जब बच्चा बढ्दै जान्छ,अनि उसमा उसका शारीरिक र मानसिक संरचनाहरू बढ्दै र परिवर्तन हुँदै जान्छन् । कुनै खास अङ्ग नभएको बाहेक बच्चा साङ्गता भएको वा अपाङ्गता भएको के छ भनेर छुट्टाउन अलि गाह्रो पनि हुँदो रहेछ । जब बच्चाले आँखा हेर्ने, बोल्ने, कान सुन्ने हिँडडुल गर्ने जस्ता जस्ता शारीरिक क्रियाकलाप उमेर अनुसार हुँदैन अनि बल्ल अभिभावकले उसको पहिचान थाहा पाउँछन् ।
बहिनी माधवाको अवस्था पनि त्यस्तै भयो। बोल्छिन् कि भन्दाभन्दै बोल्न सकिनन् । उनी शारीरिक अशक्त पनि भइन। तत्कालीन समयमा त्यति सार्हो सहजता नभएकै कारण चिकित्सकसँग परामर्श गर्ने, औषधि उपचार गर्ने, अपाङ्ग केन्द्रमा भर्ना गर्ने, तालिम गराउने वा सिकाउने,शिक्षा दिने भन्ने जस्ता कुराहरू गाउँमा आएकै थिएनन् र अहिले जस्तो खासै सुनिएको पनि थिएन ।
राजधानी काठमाडौँमा केही व्यवस्था छ भन्ने सुनिएको थियो रे तर त्यस्ता ठाउँहरूमा सर्वसाधारणको सजिलै पहुँच पनि थिएन । पछि केही सरकारी र गैर सरकारी संघसंस्था मार्फत विभिन्न कार्यक्रम छन् भन्ने बुझियो । तर समय ढिप्किसकेको थियो । उनको उमेर बढ्दै गयो । के गर्ने भाग्य यस्तै रहेछ भन्ने अवस्थामा पुगियो । आज जस्तै सानै उमेरदेखि पढ्न, लेख्न र केही तालिम सिकाएको भए शायद शारीरिक र मानसिक रुपमा वृद्धि र विकास हुन्थ्यो होला । उनको जीवन तुलनात्मक रुपमा केही सुखी र सहज हुन्थ्यो होला । अनि परिवारलाई पनि तनाव र पीडा कम हुन्थ्यो होला । अब यस कुरामा पश्चाताप गर्नुको विकल्प के नै रह्यो र । अहिलेको पिँढीले विगतका यी र यस्ता थुप्रै कमजोरी र अनुभवहरूबाट धेरै पाठ सिक्नुपर्छ।
अहिले त राज्यले संविधान र विभिन्न कानूनमा अपाङ्गहरूलाई धेरै किसिमका सेवा र सुविधा व्यवस्था गरेको पनि सुनिन्छ । सर्वसाधरण जो कोहीलाई पहुँच पनि छ।बुवाआमा वा घरपरिवारले बच्चामा केही जन्मजात अपाङ्गता वा अशक्तता देखिए भने चिकित्सकको परामर्श लिन सकिन्छ । अपाङ्गता भएकालाई साङ्ग बनाउन सक्ने धेरै किसिमका प्रविधिको विकास पनि भएको छ। अहिलेको चामत्कारिक २१ औँ शताब्दीमा पनि प्रारब्ध र भाग्य यस्तै रहेछ भनेर जन्मजात अपाङ्गता भएकालाई अपाङ्गताकै रुपमा पाल्नु हुँदैन ।
विश्वको अपाङ्गको तथ्यांक हेर्दा निकै दुःखदायी अवस्था छ। अहिले जति नयाँ ज्ञान र प्रविधिको विकास भइरहेको छ । त्यति नै मात्रामा जन्मजात अपाङ्गताको संख्या पनि बढिरहेको देखिन्छ। विश्व स्वास्थ्य संगठनको सबैभन्दा पछिल्लो तथ्यांक अनुसार विश्वको कूल जनसंख्याको करिब १६ प्रतिशत कुनै न कुनै रुपमा अपाङ्गता भएका छन् । नेपालको जनगणना २०७८ अनुसार पनि ६ लाख ४५ हजार ७४४ अर्थात २.२ प्रतिशत अपाङ्गता भएका रहेका छन् ।
अन्त्यमा,
नेपालमा कानूनी रुपमा अपाङ्गतालाई धेरै किसिमका सेवा, सुविधा र अवसर छन् भनिए पनि ती सर्वसाधारणको पहुँचमा अझै पुग्न सकेका छैनन् । जन्मजात वा पछि कुनै कारणले शारीरिक वा मानसिक रुपमा अपाङ्गता भएका वा अशक्तहरूलाई राज्यले पहिलो प्राथमिकता राख्नुपर्छ ।
वास्तवमा कुनै व्यक्ति अपाङ्गता हुनु सम्बन्धित व्यक्तिको इच्छा वा चाहना होइन । साङ्गका थुप्रै विकल्प हुन सक्छन् तर अपाङ्गता भएकाका विकल्प हुँदैनन् । राज्यले संविधान र कानूनमा मात्र लेखेर हुँदैन,कार्यान्वयन गर्नुपर्छ ।
अपाङ्गताका नाममा धेरै सरकारी र गैरसरकारी संघसंस्था मार्फत लाखौँ रुपैयाँ बजेट खर्च भएका सुनिन्छन् । तर वास्तविक अपाङ्गताले राज्यबाट पाउनु पर्ने सुविधाहरू पाउन नसकेका धेरै गुनासा पनि छन् । अन्त्यमा, प्यारी बहिनी माधवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस समाजमा रहेका जुनसुकै अपाङ्गता भएका व्यक्तिलाई माया गरौँ । हेला नगरौँ । राज्यका हरेक अङ्गमा कानूनमा तोकिए बमोजिमका अवसरहरू अपाङ्गतालाई प्रदान गरौँ र गराऔँ र पूर्वाधारहरू पनि अपाङ्गमैत्री बनाऔँ अनि भेदभावरहित समाजको निर्माण गरौँ। (पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)