कोहलपुर । बाँकेको कोहलपुरबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा लागुऔषधको कारोबार भइरहेको खबर पाए लगत्तै नेपालगन्जस्थित लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका २ विकासनगरका २६ वर्षीय टीकाराम सुनार, कोहलपुर ११ की २० वर्षीया सपना सिंह ठकुरी र कोहलपुर २ आनन्द नगरका २७ वर्षीय चित्रबहादुर थापा रहेका छन् ।
छुट्टाछुट्टै पक्राउ परेका उनीहरुमध्ये लागुऔषध ब्यूरो र कोहलपुर प्रहरीको टोलीले शनिबार राति कोहलपुरबाट टीकाराम र सपनालाई ६ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीहरु दुवै जनासँगै रहेको अवस्थामा टीकारामको गोजीबाट उक्त खैरो हेरोइन बरामद गरिएको हो ।
त्यस्तै शनिबार राति नै कोहलपुर २ सालको बुटाबाट संयुक्त टोलीले चित्र बहादुरलाई २ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।
चित्रबहादुरलाई पनि विशेष सूचना पाएर गएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ।
खैरो हेरोइनसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।