विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्दै
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
826
Shares
काठमाडौँ । नेपाल विद्युत प्रधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने तयारी गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सात खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्वसाधारणका लागि प्राथमिक शेयर खोल्ने चरणमा रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा घिसिङले यसबारे जानकारी गराएका हुन् । सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको उनको भनाइ छ । लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी शेयर खोल्नुपर्ने घिसिङले बताए।
विद्युत प्राधिकरणले १२ हजार मेगावाटको विद्युत खरिद विक्री सम्झौता (पीपीए) गरेको उनले जानकारी दिए । हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भएपनि हिउँदमा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ। २८ हजार ५०० मेगावाट विद्युत पुर्याउन विद्युत प्राधिकरणले अझै पीपीए खोल्ने पक्षमा रहेको उनले बताए।
‘हाल पीपीए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पीपीए गरी निर्माण नगर्ने तर नयाँ पीपीए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’ प्राधिकरणसँग पीपीए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए ।