काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले ६४ औँ वार्षिकोत्सव मनाएको छ । देश विदेशका निष्पक्ष तथा आधिकारिक समाचार एवं सूचना देशवासी र विदेशी माझ सहज रूपमा प्रवाह गर्न र राष्ट्रिय एकताको भावना अभिवृद्धि गरी ठोस जनमत सिर्जना गर्न मद्दत पुगोस् भन्ने हेतुले विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति गठन गरियो जसलाई पछि राष्ट्रिय समाचार समिति (रासस) मा परिवर्तन गरियो ।
नेपालमा विसं २०१६ पुस १ गते नेपाल संवाद समिति (नेसस) नामक समाचार एजेन्सी स्थापना भयो । संस्थापकहरु थिए, गोपालदास श्रेष्ठ, गोविन्द वियोगी, मदन शर्मा र गणेश मानन्धर । विसं २०१७ वैशाख ३० गते नेपालमा यस्तै प्रकृतिको अर्को संस्था सगरमाथा संवाद समिति (ससंस) स्थापना भयो ।
यसका संस्थापक मणीन्द्रराज श्रेष्ठ, शङ्करनाथ शर्मा र पशुपतिदेव पाण्डेलगायत थिए । यी दुई समाचार समितिलाई गाभेर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति बनाइयो । रासस ऐन २०१९ जारीपछि समितिले कानूनी मान्यता पायो ।
समाचार समिति अर्थात् न्यूज एजेन्सी भनेकै खासगरी आमसञ्चारका माध्यमहरु जस्तै अखबार, विद्युतीय माध्यमलाई समाचार सामग्री उपलब्ध गराउने संस्था हो । समाचार समितिको सामान्यतया आफ्नै प्रकाशन र प्रसारण गृह अर्थात् मिडिया आउटलेट हुँदैन । विश्वका कतिपय देशमा न्यूज एजेन्सीले पत्रपत्रिका, रेडियो या टेलिभिजन सञ्चालन गरिरहेका पाइन्छन् ।
६४ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय समाचार समितिले आफ्ना ग्राहकलाई विशुद्ध सूचना तथा समाचार प्रदान गर्ने उद्देश्य राखेर समयको माग बमोजिम आफ्ना सेवालाई विविधिकरण गर्दै राष्ट्रिय(अन्तरराष्ट्रिय समाचार, तस्बिर, श्रव्यदृष्य, आलेख, विचार, अन्तर्वार्ता र मातृभाषामा समाचार सामग्री अनलाइनमार्फत प्रदान गर्दै आएको छ ।
राससको ६४ औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्ष’ पुस्तक सार्वजनिक गरे ।
राज्य र सरकारको कामलाई प्रचारप्रसार गर्ने उद्देश्यले राससले गणतन्त्र दिवस २०८० को सन्दर्भमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ र गणतन्त्र दिवस–२०८१ को सन्दर्भमा ‘गणतन्त्रको उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।
उक्त प्रदर्शनीमा राखिएका तस्बिरलाई सङ्ग्रह गरेर ‘रासस फोटो किताबः गणतन्त्रका १६ वर्ष’ पुस्तक प्रकाशन गरेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताए । यो फोटो किताबले नेपालमा विकास तथा कुनै काम भएन भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास लिएको कार्यकारी अध्यक्ष झाले बताए ।
सो अवसरमा उत्कृष्ट कर्मचारी पनि सम्मानित भएका छन् ।