नेपाल एक खेलअघि नै वुमेन्स च्याम्पियनशिपको फाइनलमा, साम्बाको गोल [फोटोफिचर]
नेपालले आधा दर्जन गोल गर्ने अवसर गुमायो, उपाधि भिडन्त म्यानमारसँग
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
578
Shares
काठमाडौँ । नेपाल घरेलु मैदानमा जारी इन्टरनेशनल वुमेन्स च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । लगातार दुई खेल जित्दै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो ।
पहिलो खेलमा कीर्तिस्तानमाथि १–० को जित हासिल गरेको नेपालले दोस्रो खेलमा बिहीबार लेबनानमाथि पनि १–० कै जित हासिल गरेको हो ।
कीर्तिस्थानमाथि जित हासिल गर्ने क्रममा विमला चौधरीले गोल गरेकी थिइन् ।
लेबनानलाई हराउन फ्रान्सबाट व्यवसायिक खेल छाडेर आएकी सावित्रा भण्डारी ‘साम्बा’ ले निर्णायक गोल गरिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लेबनानलाई हराउन सावित्राले ४२ औँ मिनेटमा गोल गरेकी हुन् ।
साम्बाले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल लेबनानी डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
नेपालले आधा दर्जन गोल गर्ने अवसर गुमाएको थियो । शुरुको १५ मिनेटभित्र गोल गर्ने दुई सुन्दर अवसर खेर फालेको लेबनान त्यसपछि भने सम्हालिन सकेन ।
नेपाल १५ मिनेटसम्म डिफेन्समै व्यस्त रहे पनि त्यसपछि भने आक्रामक बन्न थाल्यो । तर १७औं मिनेटमा रेखा पौडेलले सुन्दर अवसर गुमाइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइडबाट बाहिरियो ।
२६औं मिनेटमा विमला चौधरीको हेडरले गोलपोष्टको जाली चुमाउन सकेन । लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन्। त्यस लगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन।
५९औं मिनेटमा सावित्राले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो ।
यो जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । म्यानमार पनि दुवै खेल जितेर फानलमा पुगेको छ । गोल अन्तर बढी भएकाले म्यानमार शीर्ष स्थानमा छ ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार म्यानमारसँगै खेल्नेछ । सोही दिन एक खेलअघि नै बाहिरिएका लेबनान र कीर्गिस्तान खेल्नेछन् ।