काठमाडौँ । स्थानीय पहिचान र सम्भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौँ महानगरपालिका वडा नं १५ को आयोजनामा शनिबारदेखि प्रथम ‘स्वयम्भू महोत्सव’ शुरु भएको छ ।
स्वयम्भूको भुइँखेल चौर र धर्मचक्र पार्कमा शुरु भएको उक्त महोत्सवको काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) ले उद्घाटन गरेका हुन् ।
सो क्रममा उनले स्वयम्भू क्षेत्र धार्मिक एवं सामाजिक सहअस्तित्व र सहभावमा आधारित अनुपम समाज भएको आदर्श भूमिका रूपमा चित्रण गरे । “हिन्दू, बौद्ध, किरात र बोन धर्मावलम्बीको मिश्रित बसोबास भएको यस क्षेत्रका नागरिकका बीचको आपसी सम्बन्ध आत्मीय छ । आफ्नो धर्म मान्ने, अरुको धर्मको आदर गर्ने, धर्मावलम्बीप्रति सहभाव राख्ने यस प्रकारको समाज विरलै पाइन्छ”, प्रमुख साहले भने, “सद्भावयुक्त सामाजिक यो व्यवस्था उदाहरणीय र अनुकरणीय छ । यसलाई प्रवर्द्धन गर्नुपर्छ ।”
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले स्थानीय उत्पादनको बजारीकरण, मौलिक खाना र हस्तकलाका सामानको महत्व वृद्धि गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गरिन् ।
काठमाडौँ महानगरपालिका–१५ को प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठमन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारक प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट आझेलमा परेका प्राचीन स्मारक पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन हुने वडाध्यक्ष ईश्वरमान डङ्गोल बताउँछन् ।
महोत्सवमा वडाबाट उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम लिएका व्यक्ति तथा सङ्घसंस्थाले उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादन, तरकारी तथा फलफूल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन प्रदर्शनीमा राखिएका छन् ।
महोत्सवमा करिब ६० कक्षबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ ।
परम्परागत बाजा, वडावासीका जन्मदेखि मृत्युपर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिएको छ ।
मौलिक खानाका कक्ष, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकारितासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेल महोत्सवका थप आकर्षणका रूपमा रहेका छन् ।