arrow

महाशिवरात्री

पशुपतिनाथमा भक्तजनको भीड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
shivaratri-081.jpg

काठमाडौँ ।  आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदै छ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । 

आज बिहानैबाट भक्तजनहरू पशुपतिनाथको पूजा गर्नका लागि लामबद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । 

महाशिवरात्रिका अवसरमा आज विशेष पूजाका लागि रु १५ हजार एक सय, रु ३५ हजार र रु ६५ हजारको रसिद काटिएको पनि कोषले जनाएको छ । घामले तातिँदै जाँदा पशुपति क्षेत्रमा भक्तजन पनि बढ्न थालेका छन् 

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि पनि गरेको छ । नेपाली सेनाले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । अन्य विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।

हंसमण्डपमा विभिन्न सङ्घसंस्थाले भोजन, पानीलगायत सेवा दिइरहेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तलाई गत सोमबारदेखि नै गुठी संस्थान, कोषलगायत सरकारी एवं गैरसरकारी सङ्घसंस्थाले खाने–बस्ने व्यवस्था गरेका छन् ।

महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेको फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ