एकवर्षदेखि बन्द जुम्लाकोट पशुसेवा केन्द्र पुनःसञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
643
Shares
जुम्ला । जुम्लाको तिला गाउँपालिका-८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा केन्द्र सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको पशुसेवा केन्द्र आइतबारदेखि सञ्चालनमा आएको हो ।
पशु प्राविधिक कर्मचारी नहुँदा केन्द्र बन्दबारे ९ माघ २०८१ मा राससबाट समाचार प्रकाशन भएपछि तिला गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेको छ । पालिकामा रहेको पशु विकास शाखाबाट नायब पशु स्वास्थ्य प्रविधिक वीरेन्द्रलाल महतलाई उक्त केन्द्रका लागि खटाएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । तीन जना पशु विकास शाखा हेर्ने कर्मचारी कार्यरतमध्ये एक जनाको अवकाश भएपछि दुई जना कर्मचारीबाट सेवा प्रवाह भइरहेको थियो । अब बन्द रहेको केन्द्रका लागि एकजना कर्मचारी पठाएपछि सेवा प्रवाह सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । चाहिने आवश्यक औषधिको व्यवस्थापन गरेर यहाँका स्थानीयवासीको सहजका लागि गाउँमै केन्द्र सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।