साउन १ गतेदेखि प्रदेश सरकारले लाइसेन्स छाप्ने [भिडियो]
सरकारसँग छैन नेपालका सवारीसाधनको यकिन तथ्यांक, वैशाखसम्म संकलन गरिने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
784
Shares
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्बद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताए ।
उनले मेसिन किनेर कार्ड बनाउने की कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताए । उनले बागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि शुरु गर्नुपर्ने बताए । आगामी कार्तिक मंसिरससम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने बताए । उनले जसमा अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै छपाई गर्न बाँकी रहेको बताए ।
उनले भने, ‘ साउनको १ गतेदेखि अब यो तपाईँहरूकै जिम्मामा हुन्छ । कार्ड किन्ने की मेसिन किन्ने की के गर्ने भन्ने अन्योल छ भने । त्यो तपाईँहरूकै जिम्माको कुरा हो । तपाईँहरूले कार्ड किन्नुहुन्छ की मेसिन किन्नुहुन्छ ? के गर्नुहुन्छ तपाईँहरूले निर्णय गर्नुपर्छ । के गर्दा दिन सकिन्छ ? ९ लाख दिन्छु भनेर डेढ लाख गर्नुभएन । बागमती धेरै अगाडि बढिसकेको छ । कोशीले त प्रयत्न पनि गर्यो, अस्थायी लाइसेन्स बाँड्यो । कुरा ठूलो नभए पनि ठूलो विषय जस्तो भएको छ, लाइसेन्सको विषय । यसलाई अब हामीले कोशी प्रदेशको मन्त्रीजीले भनेको जस्तो फरफारक नै गरौँ भन्ने छ । फरफारक गर्नैपर्छ । हामीले साउन १ गतेदेखि अब कप्म्लिट्ली प्रदेशले ड्राइभिङ लाइसेन्सको जिम्मा लिऔँ । आगामी कार्तिक मंसिरससम्म हामीले २५ लाख छपाउनुपर्नेछ । जम्माजम्मी हामीले ५ लाख, साढे ५ लाख छापेका छौँ । १९ लाख त अझै छाप्न बाँकी छ । यसमा नेपाल सरकार ठूलो नोक्सानीमा पर्ने जोखिम छ । यसलाई हामीले जोगाउनुपर्ने जरुरी छ ।’
साथै मन्त्री दाहालले सरकारसँग नेपालमा कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक नरहेको बताए। उनले नेपालसँग कति सवारीसाधनहरु छन् भन्ने यकिन तथ्यांक नहुँदा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत अनुमानित तथ्यांक दिनुपरिरहेको गुनासो गरे।
उनले अनुमानित ५०-६० लाख सवारीसाधनहरु रहेको बताए । वैशाखसम्ममा नेपालभर रहेका सवारीसाधनहरुको यकिन तथ्यांक संकलन गर्ने बताए ।