काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले दशरथ रंगशालामा दर्शक कुट्ने एमाले कार्यकर्ताहरुको हर्कतप्रति गम्भीर आपत्ति जनाएका छन् ।
गत सोमबार दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ओलीकै नाममा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको केपी ओली कप फुटबलको फाइनलका क्रममा दर्शकबाट विरोध भएपछि एमालेका कार्यकर्ताले ती दर्शकमाथि आक्रमण गरेको भन्दै शाहीले आपत्ति जनाएका हुन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै बुधबार शाहीले एमालेका कार्यकर्तासँगै प्रहरीलेसमेत पक्ष लिँदै दर्शकमाथि लाठी बर्साको भन्दै आपत्ति जनाए । उनले यदि प्रधानमन्त्री विरोधीलाई हान्ने र प्रहरी पनि त्यसकै समर्थनमा लाग्ने हो भने आफूहरु पनि भिड्न तयार रहेको बताए ।
साथै शाहीले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउने खेल भइरहेको भन्दै आपत्ति जनाए । उनीसँगै माओवादी र रास्वपाका सांसदलेसमेत यो विषयमा एक मत व्यक्त गरेका छन् ।