काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीमाथि नैतिक प्रश्न खडा भएको छ । भण्डारीले एकै समयमा स्वदेश र विदेशका समान प्रकृतिका दुई कम्पनीहरुमा जिम्मेवार पदमा काम गरेको भेटिएसँगै उनीमाथि नैतिक प्रश्न उठेको हो ।
निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेड (तत्कालीन स्पाइस नेपाल, मेरो मोबाइल) मा डेपुटी चिफ फाइनान्स अफिसरका रुपमा काम गर्दै गरेको समयमा भण्डारीले राजीनामा नै नदिई अर्को विदेशी कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा काम गरेको पाइएको हो ।
प्राप्त जानकारीअनुसार भण्डारीले तत्कालीन स्पाइस नेपाल (हालको एनसेल आजियाटा लिमिटेड) मा कार्यरत पदबाट राजीनामा दिनुभन्दा २० दिन अगाडि नै विदेशी कम्पनीको उच्च कार्यकारी पदमा नियुक्ति लिएको देखिएको हो ।
उनले प्राधिकरणमा अध्यक्ष पदका लागि आवेदन दिँदा बुझाएका दस्तावेजहरुका अनुसार त्यसबेला राजीनामा दिएको संस्था एनसेल (तत्कालीन स्पाइस नेपाल, मेरो मोबाइल) र नयाँ नियुक्ति दिनेमा अफ्रिकी महादेशमा रहेको बुरुण्डीको राजधानी बुजुम्बुरामा मुख्यालय रहेको लासेल एसयू रहेका छन् ।
अहिले दूरसञ्चार क्षेत्रमा रहेका सबै सेवा प्रदायकहरुलाई नियमन गर्ने पदमा रहेर काम गरिरहँदा अध्यक्ष भण्डारी आफैँले स्वदेश र विदेशमा छुट्टाछुट्टै सञ्चालनमा रहेका दुई फरक कम्पनीमा एकै समयमा दुई फरक जिम्मेवार भूमिकामा काम गरेको देखिएसँगै हालको उनको भूमिकामासमेत गम्भीर नैतिक प्रश्न उब्जिएको जानकारहरु बताउँछन् ।
सामान्य विषय लागे पनि कानूनी दृष्टिकोणले भने यो कदम दण्डनीय मानिन्छ ।
अर्कातर्फ उनले बनाएको अनुभवी पत्र पो कतै नक्कली हो कि भन्ने प्रश्न पनि उठेको छ । आखिर जे भए पनि भण्डारी नैतिक प्रश्नको घेरामा परिसकेका छन् ।
मिडियाहरुमा यो विषयले स्थान पाएको भए पनि भण्डारीले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।