काठमाडौँ । केही प्रस्तावित अन्तर्राष्ट्रिय शृङ्खलासहित नेपाली क्रिकेटको वर्ष २०२५ का लागि क्यालेन्डर सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ को दुई महिना सकिएपछि यस वर्षको घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षणलगायत गतिविधि समावेश गर्दै क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो ।
शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्यानले आपैंंmले आयोजना गर्ने कार्यक्रम मात्र समावेश गर्दै यस वर्षको क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । यु-१६ र यु-१९ उमेर समूहमा महिला र पुरुषमा पनि केही सीमित कार्यक्रम क्यानले गर्ने भएको छ । गत वर्ष क्यानले विभिन्न सङ्घसंस्था, जिल्ला र क्लबले गर्ने प्रतियोगितालाई आफ्नो वार्षिक कार्यक्रममा समावेश गरेको थियो ।
यसपल्ट भने ती कार्यक्रमको मिति तय नभएकाले समावेश नगरिएको क्यानका सचिव पारस खड्काले बताए । उनले बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगितात्मकताmत नेपाली क्रिकेटलाई व्यस्त राख्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । क्यानका सचिव पारस खड्काले जुलाई, अगस्ट र सेप्टेम्बरमा विश्वकप छनोटको तयारी गर्ने गरी श्रीलङ्का, भारत र अस्ट्रेलिया जाने कार्यक्रम रहेको बताए । इङ्गल्यान्डको काउन्टी क्रिकेटको टोलीसँग पनि खेल्ने योजना रहेको उनको भनाइ छ । सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग खेल्ने गरी तयारी गरिरहेको क्यानका सचिव खड्काले बताए ।
सन् २०२५ मा आइसिसी विश्वकप लिग २, विश्वकप छनोट, हङकङ सिक्सेस, टी-२० र एकदविसीय अन्तर्राष्ट्रिय शृङ्खला, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिताका प्रतियोगितामा नेपालले सहभागिता जनाउनेछ । ओमानमा हुने आइसिसी टी ट्वान्टी-२० क्वालिफायरअगाडि आइसिसी विश्वकप लिग-२ साइकलको खेल युएईमा हुँदैछ । त्यसपछि नेपालको क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुट्ने भएको छ । यद्यपि एनपिएल आयोजनाको मिति भने आइसिसीबाट स्वीकृत भई नसकेको क्यानले जनाएको छ । वर्षको अन्त्यमा पनि नेपालको पुरुष टोलीले ओमानमा नै लिग-२ को खेल खेल्ने तयारी छ ।
अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निर्माणाधीन अवस्थामा छ । तल्लो मुलपानीको क्रिकेट ग्राउन्डमा यु-१९ विश्वकपको क्वालिफायर र माथिल्लो मुलपानी क्रिकेट मैदानमा त्यसको तयारी गर्ने क्यानले योजना बनाएको छ । क्यानका सचिव पारसले पूर्वाधारको कमिले गर्दा घरेलु मैदानमा धेरै अन्तर्राष्ट्रिय शृङ्खला गर्न नसकिएको र अधिकांश विदेशी भूमिमा पनि शृङ्खला केन्द्रित गरिएको उल्लेख गरेका छन् । नेपालको ‘ए’ टिमको पनि तयारीमा पनि क्यान रहेको छ । नेपालको महिला टोलीलाई मार्चदेखि नै क्रिकेट तालिकामा व्यस्त क्यानले जनाएको छ ।
ग्रास रुट क्रिकेटलाई विकास गर्न विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट च्याम्पियनसिप हुने भएको छ । क्यानका कार्यक्रमबाहेक जिल्ला र प्रदेशअन्तर्गत रहेर अन्य राष्ट्रिय प्रतियोगिता गराइने भएको छ । जसरी पनि विश्वकपमा छनोट हुने गरी योजना तयार पारिएको क्यानका सचिव खड्काको विश्वास छ । क्यानले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको छ । करिब ७० जनाले अहिलेसम्म आवेदन दिएको र तीमध्ये दुई जना पूर्वराष्ट्रिय हेड कोच पनि रहेको क्यानले जनाएको छ ।