arrow

कांग्रेसबाट मेयर बनेका त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई दिए भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
gffddd.jpg

तनहुँ । भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो ।  

नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उनले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ । “वर्षायाम लाग्ने बेला हुँदासमेत सडक अलपत्र भएपछि यस्तो निर्माण गरेको हुँ, नगरवासीलाई सहज यात्रा गर्ने वातावरण बनाउने दायित्व पूरा गरिरहेको छु”, नगर प्रमुख त्रिपाठीले भने ।  

काम छिटो पूरा गर्न ठेकेदारलाई निर्माण सामग्री खरिद गर्नको लागि रकम अभाव नहोस् भनेर नगर प्रमुख त्रिपाठीले रकम भुक्तानी दिएको भानु –१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताए । उनका अनुसार नगर प्रमुख त्रिपाठीले निर्माणको लागि आवश्यक इन्धन जमानी बसेर ठेकेदारलाई उपलब्ध गराएका छन् । ठेकेदारलाई काम गर्न सहज होस् भनेर रु १५ लाख बराबरको सिमेन्टको समेत जमानी लिई व्यवसायीसँग निर्माण सामग्री लगेर काम दु्रत गतिमा काम भइरहेको वडाध्यक्ष अधिकारीले बताए । 

“रकम अभाव भएमा ठेकेदारले समयमा काम पूरा गर्दैन, वर्षा लागेपछि काम गर्दा प्रभावकारी हुँदैन, समयमा नै काम पूरा गर्नकै लागि ऋण लिएर सहयोग गरेको हुँ”, उनले भने । भानु नगरपालिका–१  सतीघाटस्थित ६ रोपनी खेत धितो राखेर सहकारीबाट रकम दिएको त्रिपाठीले स्वीकारे। पेटी ठेकेदारको रुपमा काम गर्दै आउनुभएका राजेन्द्र पराजुलीले नगर प्रमुुखले ऋण निकालेर सहयोग गरेपछि तीव्र रुपमा काम गरी छिटो सम्पन्न मद्दत गरेको बताए । 
 
ठेक्का सम्झौता भएको लामो समयसम्म यस मार्गको निर्माण कार्यमा प्रगति हुन नसकेपछि पूर्वाधार विकास कार्यालय तनहुँले काठमाडौँस्थित शङ्करमाली कन्ट्रक्सनसँग तोडिएको ठेक्का पेटी ठेकदारको रुपमा काम गरिरहनुभएका पराजुलीलाई जिम्मा दिइएको हो । पटक–पटक म्याद थप गर्दा समेत सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ । 

भानु–१३ को चन्द्रावती बजारदेखि पोखरीछाप, ठूल्ढुङ्गासम्म दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । अलपत्र कामलाई तीव्रता दिन पहल ऋण लिएर पूरा गर्न लागिएको हो । उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । 

दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका कामका लागि विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ ।
 
बर्सातका समयमा सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले सास्ती खेप्दै आएकाले छिटो सम्पन्न गर्न नयाँ ठेकेदारलाई सहयोग गरिएको उनले बताए । वडाध्यक्ष अधिकारीका अनुसार नयाँ ठेकेदारले जिम्मा लिएपछि हाल करिब ८० प्रतिशत सडक निर्माणको काम पूरा भएको छ । 

चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगर प्रमुख र वडाध्यक्षले व्यक्तिगत रुपमा रकम उपलब्ध गराइदिएपछि काम गर्न सजिलो भएको ठेकेदार राजेन्द्र पराजुलीले बताउनुुभयो । शङ्करमालीले काम गरेको रकम भुक्तानी नदिएपछि रकम अभावले काम प्रभावित हुने जानकारी नगरपालिकामा गराएपछि व्यक्तिगत रुपमा रकम दिएर काम गर्न सहज भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ