राजावादीहरूको विरुद्धमा एकताबद्ध हुन नेकपा एसको आह्वान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
664
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरूको विरुद्धमा एकताबद्ध हुन आह्वान गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो आह्वान गरेको हो ।
बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरू सलबलाइरहेको भन्दै गणतन्त्रका विरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरूलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए । उनले गणतन्त्रको विकल्प अझ उन्नत स्तरको समाजवादी गणतन्त्र भएको निष्कर्ष पार्टीको रहेको बताए । प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरूका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने बताए ।
उनले भने, ‘वर्तमान परिस्थितिका बारेमा लामो छलफल भयो । कतिपय पार्टीका आन्तरिक सवालहरूमा छलफल भयो । यतिबेला राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरू जुन ढङ्गले सलबलाइरहेका छन्, चलखेल गरिरहेका छन्, गणतन्त्रका विरुद्धमा षड्यन्त्र भइरहेका छन् । त्यसका विषयमा अलि लामो बहस र छलफल भयो । यो गणतन्त्रको विकल्प अझ उन्नत स्तरको समाजवादी गणतन्त्र हो । पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन र त्यस्ता गतिविधिको विरुद्धमा हामी छौँ । यस्ता गतिविधिका विरुद्धमा एकताबद्ध हुन, संविधान, गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरूले आत्मसमिक्षा गर्नुपर्छ, प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरूका षड्यन्त्रलाई परास्त गर्नुपर्छ भन्ने निष्कर्ष छ । प्रतिगमनकारी शक्तिहरूको विरोध गर्दै सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू, गणतन्त्रवादी जनसमुदायलाई गणतन्त्रको रक्षाको लागि एकताबद्ध हुने निर्णय भएको छ । रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउँदै छौँ, आन्दोलनको पक्षमा उभिन र आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्ने निर्णय गरेका छौँ । चैत्र १ गते वृहत् पत्रकार सम्मेलनमार्फत आन्दोलनको रूपरेखा प्रस्तुत गर्ने निर्णय भएको छ ।’