पोखरा । पोखरामा केही महिनादेखि भइरहेको कोटीहोम सञ्चालनबारेको विवाद समाधान गर्न वार्ता टोली गठन भएको छ ।
सोमबार जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले समस्या समाधान गर्न पाँच सदस्यीय समिति वार्ताटोली गठन गर्ने सहमति भएको हो ।
वार्ता टोलीमा पोखरा महानगरपालिकाका दुई, मानव सेवा फाउन्डेसनका दुई र जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि रहने बताइएको छ ।
वार्ता टोलीमा रहने प्रतिनिधिको नाम भने तोकिएको छैन ।
पोखरा महानगरका प्रवक्ता मोती तिमिल्सिनाले मंगलबार बस्ने पोखरा महानगरपालिकाको बैठकले यससम्बन्धी टुंगो बताए ।
सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्यले र मानव सेवा फाउण्डेसनका विजय भण्डारीसहितको टोलीसँग छलफल भएसँगै विवाद समाधान गर्ने सहमति भएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।
विशेषगरी कोटीहोम आयोजनास्थलका बारेमा विवाद हुँदै छ । फाउन्डेसनले नेपाल ट्रस्टको जग्गामा कोटीहोम सञ्चालन गर्ने तयारी गरेपछि विवाद सुरु भएको हो ।
पोखरा महानगरले अनुमति बिना कोटीहोम गर्न नदिने अडान राख्दै आएको छ । महानगरले नेपाल ट्रस्टको जग्गाबाहेक अन्यत्र कोटी होम सञ्चालन गरिए सहयोग गर्ने बताउँदै आएको छ ।
यो विवादलाई दुवै पक्षले उच्च अदालत पुर्याएका थिए । जसमा अदालतले दुईदुई पटक कोटीहोम अयोजकलाई कुनै अवरोध नगर्न पोखरा महानरलाई आदेश दिएको थियो । यो आदेशलाई महानगरले एकपक्षीय भन्दै आएको छ ।
अदालतको पनि साथ पाएको फाउण्डेशनले शनिबार भूमिपूजा गर्न लाग्दा महानगरले रोक्न खोजेको थियो । सो क्रममा झडप हुँदा केही नगर प्रहरी घाइते भएका थिए ।
शुरुआती चरणमा पोखरा पर्यटन परिषदमा आवद्ध संस्थाले कोटीहोन नगर्न आग्रह गरेका थिए । तर पछिल्लो चरणमा केही संस्था कोटीहोमको पक्षमा उभिन थालेका छन् ।
विशेषगरी होटल व्यवसायीले कोटीहोम सञ्चालन गर्नुपर्ने र यसले पोखराको पर्यटनमा महत्वपूर्ण टेवा पुर्याउने बताएका छन् ।
पोखरा महानगरले नै पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेर कोटीहोम सञ्चालनमा अवरोध गर्नु आश्चर्य लागेको होटल व्यवसायीको भनाइ छ ।