arrow

पोखरा-छेन्दु नियमित उडान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
pokhara-airport.jpg

पोखरा । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । 

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । 

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान-प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । 

“पोखरा-छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ”, बोर्डल जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा भनिएको छ, “हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्‍याउँदै नेपालमा अन्तरराष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा-छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जानेछ । 

नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ । 

“यी प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नाका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ”, विज्ञप्तिमा उल्लेख छ ।

बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकार भएकाहरूप्रति आभार व्यक्त गरेको छ । 

साथै यस कार्यले सांस्कृतिक आदान-प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने बोर्डले अपेक्षा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ