न्यायमा राजनीति नगर्न पूर्व प्रधानन्यायाधीश श्रेष्ठको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
809
Shares
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको जिकिर गरे । उनले यसमा व्यापक परिवर्तन हुन जरुरी रहेको बताए ।
आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै सङ्क्रमणकालीन न्यायको सम्बोधन नहुने बताए । उनले एउटा सक्षम, स्वीकार्य, जनताले मानेको क्षमतावान, बुद्धिमान र विश्वसनीय आयोग बनाउन जरुरी रहेको बताए । राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित हुनुपर्ने बताए ।
उनले भने, ‘सङ्क्रमणकालीन न्यायको अवस्थामा अहिलेसम्म राजनीतिले आरोहण गरिरह्यो र न्याय सुस्ताइरह्यो । यो परिस्थितिमा व्यापक रूपमा परिवर्तन हुनुपर्छ । आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै अब सङ्क्रमणकालीन न्यायको सम्बोधन भयो भन्ने होइन । यो मिनिमम काम हो । यति मिनिमम काम गर्दा पनि सन्तोष मान्नुपर्ने अवस्थामा हामी छौँ । सन्तोष मान्नुपर्ने अवस्था हो र ? एउटा सक्षम आयोग, स्वीकार्य आयोग, जनताले मानेको आयोग, परिकल्पना भएको बुद्धिमान आयोग, क्षमतावान, बुद्धिमान र विश्वसनीय आयोग खोज्नुपर्छ । आयोगमा कुनै किसिमको अनुचित सौदा गर्ने हो ने यी प्रक्रिया निरर्थक हुनेछन् । यस्तो नहोस् । राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित रहोस् । राजनीतिकर्मीले राजनीति गर्नुपर्छ । तर न्यायमा राजनीति नगर्नुहोला । पीडितको पीडाले पोलिरहेको ठाउँमा राजनीति नगर्नुहोस् ।’
पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सङ्क्रमणकालीन न्याय पीडित मैत्री हुनुपर्ने भन्दै चलखेल नगर्ने इमानदारिता आवश्यक रहेको बताए ।