एसईई परीक्षा सम्पन्न, विद्यार्थीहरू टिसर्टमा सम्झनाका सन्देश लेख्दै [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
742
Shares
काठमाडौँ। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज औपचारिक रूपमा सम्पन्न भएको छ। चैत्र ७ गतेदेखि सञ्चालन भएको परीक्षा आज सम्पन्न भएसँगै विद्यार्थीहरूबीच छुट्टिने बेला विशेष तरिकाले मनाइरहेका छन्।
परीक्षा सकिएपछि विद्यार्थीहरूले सम्झना र मायाको चिनो स्वरूप एक-अर्काका टिसर्ट तथा सर्टमा शुभकामना सन्देश लेख्ने परम्परा पछिल्लो समय निकै प्रचलित बनेको छ। साथीहरूबीचको मित्रता झल्काउने यस शैलीमार्फत उनीहरूले आपसी सम्बन्ध बलियो बनाउने प्रयास गरिरहेका छन्।
विद्यार्थीहरूले भविष्यका योजनाबारे एक अर्कासँग कुराकानी गर्ने, स्कुले जीवनका यादहरू सेयर गर्ने र अगामी लक्ष्यबारे प्रेरणादायी सन्देश आदानप्रदान गर्ने क्रम चलिरहेको छ। यसरी टिसर्टमा लेखिएका सन्देशहरू विद्यालय जीवनका अमूल्य क्षणहरूको स्मरणका रूपमा रहने विश्वास विद्यार्थीहरूले व्यक्त गरेका छन्।
एसइई परीक्षा सकिएसँगै विद्यार्थीहरू अब नतिजाको प्रतीक्षामा रहनेछन्, साथै उच्च शिक्षाका लागि तयारी गर्ने चरणमा प्रवेश गर्दै छन्।