रवि फर्के पार्टीको जिम्मेवारीमा, पहिलो दिनमै आक्रोश [फोटोफिचर]
पहिलो महाधिवेशन बैशाखमै
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
3.3k
Shares
काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिको जिम्मेवारीमा फर्किएका छन् । रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उक्त बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरे । त्यसपछि सभापति लामिछानेको सभापतित्वमा आजै दोस्रो बैठक बसेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उक्त बैठकमा पार्टी र सदनको गतिविधिबारे सदस्यबाट संक्षिप्त रिपोर्टिङ, ‘लिडरशिप एकेडेमी’को ‘फ्लो चार्ट’, जन यात्रा कार्यक्रम, अधिवेशन–महाधिवेशन कार्यतालिका, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
सहकारी ठगीलगायत चार कसूरमा आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग भएका थिए ।
त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
लामिछानेले जिम्मेवारीमा फर्किकै दिन आक्रोश पोखेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले आफूविरुद्ध अर्को प्रहार गर्न सक्ने बताए । उनले सहकारी प्रकरणमा पक्राउ परेपछिको अवस्था पीडादायक रहेको बताए । उनले आफूमाथि भएको प्रहार सबै राजनीतिक प्रतिशोधको उपज भएकोसमेत बताए ।
उनले आफूमाथि अर्को प्रहार हुन सक्ने भन्दै कार्यकर्ताहरुलाई आक्रोशितसमेत बनाउन मलजल गरेका छन् ।
लामिछाने चार सहकारी ठगीमा दुई करोड ७९ लाख रुपैयाँ धरौटी तिरेर बाहिरिएका हुन् । उनले तीन ओटा मुद्दामा पुनरावेदन दिएका छन् । उनको सांसद पद अझै निलम्बित छ ।
गत कार्तिक २ गते काठमाडौँमा पक्राउ परेपछि उनी सांसदबाट निलम्बित भएका हुन् । कुर्सीमा रहन नपाएको साढे पाँच महिनापछि रवि पुनः सभापतिको कुर्सीमा बसेका हुन् ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि सङ्घीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको छ ।
पहिलो महाधिवेशन बैशाखमै
लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी बैशाखमा हुने बताएका छन् । बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात् बैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।
महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेश गर्न उनले निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट शुरु गर्ने निर्णय गरेको छ । पार्टीका तर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्री सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा तोसिमा कार्कीसहितको ‘मिसन ब्लुप्रिन्ट’ कार्यदल गठन गरिएको छ ।
लिडरशिप एकेडेमी र उम्मेद्वार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्री सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ । पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।
बैठकले गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्णकुमारी अधिकारीलाई मनोनयनसमेत गरेको छ ।
करिब साढे पाँच महिनापछि सभापतिको जिम्मेवारीमा फकिएका लामिछानेले वर्तमान राजनीतिक परिस्थितिमा अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको बताए ।
सङ्गठनमा फेरबदल र पुनःसंरचनाका लागि तयार रहन सभापति लामिछानेले पार्टी सदस्यलाई आह्वान गरे ।