arrow

ओली र म बिच कुनै मन्त्रणा भएको छैन : प्रचण्ड

संसदको गतिरोध अन्त्य गर्न हामीबीच प्रक्रियामा सहमति भएकै हो

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
festival-ma-PM.jpeg

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र आफूबीच कुनै मन्त्रणा नभएको बताएका छन् । सोमबार दिउँसो ११औं चितवन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफुहरुबीचको एक्ला–एक्लै वार्तामा कुनै मन्त्रणा नभएको बताएका हुन् ।

आइतबार संसद बैठक बस्नुअघि दाहाल र ओलीबीच एक्ला–एक्लै भेटवार्ता भएको थियो । सोही भेटवार्तापछि एक महिना अघिबाट जारी संसदको अवरोध हटेको थियो भने, विरोधबीच सरकारले संविधान संशोधन विधेयक सदनमा पेश गरेको थियो ।

प्रधानमन्त्री दाहालले भने, ‘कतिपय मिडियाले प्रधानमन्त्री र ओलीबीच मन्त्रणा भयो भन्ने समाचार पनि लेखेका रहेछन् । तर, हामीबीच कुनै मन्त्रणा भएको छैन । संसदको गतिरोध अन्त्य गर्ने विषयमा हामीबीच प्रक्रियामा सहमति भएकै हो । असहमति कायमै राख्ने प्रक्रियामा जाने सहमति पनि गरिएको हो । संसद खुलेको छ, देश निर्वाचनको बाटोमा अघि बढेको छ । वैशाखभित्र स्थानीय निर्वाचन गर्ने गरी सरकार मिति घोषणाको तयारीमा छ ।’

महोत्सवमा राजनीति र विकासको अन्तर्सम्बन्धबारे चर्चा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राजनीति नै सबै कुराको मियो हो । राजनीति ट्रयाकमा भयो भने विकास र विभिन्न संयन्त्रहरु पनि स्वतः ट्रयाकमा अघि बढ्छन् । तर, राजनीतिक मतभेद र संक्रमणलाई देखाएर विकासका कामबाट उम्कने छुट हामीलाई छैन । हिजो हामीले राजनीतिक परिवर्तनका लागि जुन संकल्प गरेर आयौं, अब विकासका लागि त्यही संकल्प गर्न जरुरी छ । मेरो देश दौडाहा त्यसैमा लक्षित छ ।’

चितवन जिल्लाको विकासमा आफ्नो ध्यान केन्द्रित भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । नारायणी नदीमा तटबन्धको व्यवस्था, औद्योगिक प्रदर्शनी केन्द्रको निर्माण, गोलाघाट पुल निर्माण, ठोडीदेखि केरुङसम्मको बाटो लगायतका पूर्वाधार निर्माणमा मैले काम अगाडि बढाइरहेको छु । चितवनको समग्र विकासका लागि केही दिनभित्रै प्याकेज घोषणा गर्नेछु ।’

चितवनलाई एक साताभित्र लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने जानकारी दिँदै दाहालले भने, ‘काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरिएको छ । सही मान्छेलाई सही जिम्मेवारी दिइयो भने त्यसले धेरै सकारात्मक नतिजा दिन्छ भन्ने यो एउटा प्रमाण हो । विगतमा लोडसेडिङ गराएर कमिसन खाने निकै नकारात्मक सोच रहेछ । लोडसेडिङ गराएर देशलाई कंगाल बनाउनेहरुप्रति सरकार कठोर भएपछि नै लोडसेडिङ हटाउन सकिएको हो । सरकार देशैभरी लोडसेडिङ अन्त्य गर्ने अन्तिम गृहकार्यमा छ ।’

महोत्सवमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, चितवनबाट प्रतिनिधित्व गर्ने सांसदहरु, उद्योगी व्यवसायी अगुवाहरुले प्रधानमन्त्रीलाई चितवनको विकासलाई केन्द्रमा राख्न र व्यवसायिक वातावरणका लागि आग्रह गरे । चितवन उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति र भरतपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित महोत्सव माघ ५ गतेसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ